मल तस्करलाई नियन्त्रणमा लिन ४ राउण्ड हवाइफायर, ६ घाइते

जेष्ठ २५, २०७७ | नवलपरासी

पश्चिम नवलपरासीको सीमा नाकामा मल तस्करलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले ४ राउण्ड हवाइ फायर गरेको छ । 

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले दिएको जानकारी अनुसार प्रतापपुर गाउँपालिका ५ बसहिया नाकामा मल तस्करहरु र सशस्त्र प्रहरीबीच विवाद हुँदा तस्करले एक्कासी गुलेलिले प्रहरीलाई हानेपछि स्थिति नियन्त्रणमा लिन ४ राउण्ड हवाइफायर गरेको हो । 

त्यसक्रममा ६ जना स्थानीय घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि भैरहवा पठाइएको छ । तस्करहरुले रासायनिक मल ल्याउँदै गरेको र रोक्न खोज्दा प्रहरी माथि जाइलागेको प्रमुख जिल्ला अधिकारी पाठकको भनाई छ । 

लकडाउनको फाइदा उठाउँदै तस्करहरुले स्थानीयलाई अघि सारेर भारतबाट अवैध रुपमा मल ल्याएर बिक्री गर्दै आएको प्रशासनले जनाएको छ । मल कारोवारी तस्करहरुले त्यहाँको सीमा नामा रहेको प्रहरीको अस्थाई पोष्ट भत्काइदिएका छन् । 


प्रतिक्रिया