भारतीयले हतियार खोस्ने प्रयास गरेपछि सर्लाहीमा तनाब

जेष्ठ ३०, २०७७ | सर्लाही

भारतसंग सीमा जोडिएको सर्लाहीको पर्सा गाउँपालिकास्थित नारायणपुरमा भारतीय समुहले सीमामा खटिएको प्रहरीमाथी आक्रमण गरेको छ । 

यसक्रममा डिउटीमा खटिएका एक प्रहरीको हतियार समेत उनीहरुले खोसेर लाने प्रयास गरेपछि सशस्त्र प्रहरीले फायर खोलेको छ । यसमा दुई भारतीयलाई घुँडामुनी गोली लागेको छ । एकको अवस्था गम्भिर छ । सशस्त्र प्रहरीको हतियार खोस्ने भारतीयलाई प्रहरीले पक्राउ गरि नियन्त्रणमा लिएको छ । उनलाई पनि गोली लागेको छ । 

पर्सा गाउँपालिका–३ नारायणपुरस्थित भारत–नेपाल सीमामा खटिएका सशस्त्र प्रहरीमाथी भारतीयले आक्रमण सहित हतियार समेत खोसेर भाग्ने क्रममा प्रहरीले फायर खोलेको हो । 

आज बिहान चार जनाको समुहमा आएका भारतीय ब्यापारी सामान लिएर जवर्जस्ती नेपाल छिर्न खोजेपछि सशस्त्र प्रहरीले रोकेको थियो । त्यस लगतै ती ब्यापारीहरुले नजिकको भारतीय गाउँमा गएर नेपाली प्रहरीले आफुमाथी दुर्वयवहार गरेको भन्दै सयौंको संख्यामा व्यक्तिहरु लिएर शसस्त्र प्रहरीलाई आक्रमण गरेका थिए ।

ठुलो समुहमा आएका भारतीयहरु सीमामा खटिएका प्रहरीसंग रहेको हतियार खोस्न थालेपछि केहिबेर झडप समेत भएको थियो । त्यस क्रममा केही प्रहरी समेत घाइते भएका छन् । भीड तितरवितर नभएपछि र भरतीयहरु डिउटीमा खटिएका प्रहरीमाथी जाईलागेपछि प्रहरीले स्थिती नियन्त्रणमा ल्याउन गोली प्रहार गरेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताउनुभयो । 

उहाँले सीमामा तनाव रहेको जनाउँदै दुईजना भरतीयलाई गोली लागेको जानकारी दिनुभयो । घटना लगतै सशस्त्र प्रहरी र नेपाल प्रहरीको उच्च अधिकारी तथा भारतका सीमा सुरक्षा बल घटना स्थल पुगेका छन् । 

भारतका एक उच्च सुरक्षा अधिकारीले नेपाली सुरक्षा अधिकारीलाई दिएको जानकारी अनुसार गोली लागेर गम्भीर भएका भारतीय नागरिकको मृत्यु भएको छ । केहीदिनअघि मात्र सर्लाहीको फेनहारामा तस्करहरुले नेपाली सुरक्षाकर्मीमाथी आक्रमणको प्रयास गरेका थिए । 


प्रतिक्रिया