प्यूठानमा एकैदिन २० जनामा कोरोना संक्रमण पुष्टि

असार २, २०७७ | प्यूठान

प्यूठानमा एकैदिन २० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा मंगलबार २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

नौबहिनी गाउँपालिका ८ फोप्लीका ९, र नौबिहनी ६ लुङका ५ जना गरी नौबहिनीका मात्रै १४ जना छन् ।

गौमुखी गाउँपालिका, स्वर्गद्धारी नगरपालिका र प्यूठान नगरपालिकामा दुई/दुई जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय प्यूठानका कोरोना फोकल पर्सन एवं जनस्वास्थ्य निरीक्षक पुष्कल श्रेष्ठले जानकारी दिनुभयो । 

नौबहिनीमा संक्रमित हुने मध्ये एक जना उपचारको लागि भारत गएर फर्केकी ७३ वर्षीया महिला समेत छिन् । उनी दीर्घ रोगी भएकाले स्वास्थ्य अवस्था गम्भीर रहेको नौबहिनी गाउँपालिकाले जनाएको छ । 

उनलाई होम क्वारेन्टिनमा राखिएको छ । नौबहिनीका सबै संक्रमित क्वारेन्टिनमा बसेको नौबहिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत थानेश्वर भण्डारीले जानकारी दिनुभयो । 

कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई अब कसरी बसाल्ने भन्ने बारे पालिकामा छलफल भइरहेको भण्डारीले बताउनुभयो । योसँगै जिल्लामा कोरोना संक्रमित हुनेको संख्या ५५ पुगेको छ । 


प्रतिक्रिया