ब्यासमा पहिलो पटक सुरक्षा प्रमुखको भ्रमण

असार ३, २०७७ | दार्चुला

– दार्चुलाको ब्यास गाउँपालिका–१ स्थित लिम्पियाधुरा, कालापानी र लिपुलेक अतिक्रमण गरी भारतले सडक बनाएर उद्घाटन गरेको लामो समयपछि नेपाली सेना र सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलका प्रमुखले सो क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । भारतले नेपाली भूमि गुञ्जी, कालापानी हुँदै लिपुलेक भञ्जाङ्गसम्म सडक निर्माण गरी गत बैशाख २६ गते उद्घाटन गरेको थियो । 

प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, भारतले अतिक्रमण गरेको नेपाली भूमि नजिक स्थापना गरिएको बोर्डर आउट पोस्ट बीओपी र सेनाको अस्थायी बेस क्याम्प निरीक्षण गरेका हुन्् । भारतले नेपाली भूमि अतिक्रमण गरी सडक बनाएपछि नेपाल–भारत सीमा विवाद चर्किदैं आएको छ । नेपाल सरकारले अतिक्रमित भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा सहितको भु–भाग नेपालको नक्सामा समेटेको र निशान छाप समेत संशोधन गरेसँगै उच्च सुरक्षा अधिकारीबाट आज पहिलो पटक सो क्षेत्रको भ्रमण भएको हो ।

गत बैशाख ३१ गते कालापानी भन्दा १६ किलोमिटर यता छाङ्गरुमा सशस्त्र प्रहरीको बीओपी स्थापना भएको थियो । यस्तै गत जेठ ८ गते घाँटीबगरमा सेनाको अस्थायी बेस स्थापना भएको थियो । सीमा सुरक्षाका लागि बीओपी र दार्चुला–तिंकर सडक निर्माण सुरक्षार्थ सेनाको अस्थायी बेस स्थापना भएको हो । छाङ्गरुसम्मको स्थलगत निरीक्षण गरेर थापा र खनालले आ–आफ्नो जिम्मेवारी निभाउन मातहतका निकायलाई निर्देशन दिएका छन् ।    


प्रतिक्रिया