चार जिल्लाका १० जना डिस्चार्ज, उपचारपछि घर फर्किनेको संख्या २ सय ३४

असार ६, २०७७ | विराटनगर

– कोरोना भाइरस संक्रमण पुष्टि भएर आइसोलेशनमा राखिएका १० जना उपचारपछि घर फर्केका छन् । प्रदेश १ का संक्रमितमध्ये उपचारपछि घर फर्कनेको संख्या २ सय ३४ पुगेको छ । विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रबाट उनीहरुलाई डिस्चार्ज गरिएको हो । प्रदेश सरकारका अनुसार मोरङका दुईजना, खोटाङका तीनजना, सुनसरीका तीनजना र उदयपुरका दुईजना संक्रमणमुक्त भइ घर फर्केका हुन् । फर्कनेमध्ये चारजना महिला छन् ।

संक्रमण पुष्टि भएपछि उनीहरुलाई सो उपचार केन्द्रमा भर्ना गरिएको थियो । पछिल्लो पटक गरिएको स्वाब नमुना परीक्षणमा संक्रमण नदेखिएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो ।

प्रदेश १ मा कोरोना संक्रमण पुष्टि भएकाको संख्या ४ सय २२ छ । डिस्चार्ज गरिएका बाहेकलाई आइसोलेशनमा राखेर चिकित्सकहरुले हेरचाह गरिरहेका छन् । विराटनगर, मोरङको सुन्दरहरैचा र धरानमा गरी १ सय ८८ जना भर्ना गरिएका छन् । विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा २५, मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको आइसोलेशनमा ८५ र सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ७८ जना भर्ना गरिएका छन् ।

पछिल्लो पटक हिजो मोरङको बुढीगंगाका एक र झापा दमकका एकजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया