१८ मुलुकमा अलपत्र साढे ६ हजार भन्दा बढी स्वदेश फर्किए

असार ८, २०७७ | काठमाडौं

कोरोना संक्रमणका कारण विदेशमा अलपत्र परेका ७ सय ३ जना आज स्वदेश फर्किएका छन् । स्वदेश फर्किएकामा यूएईको सारजाहबाट तेस्रो पटक एअर अरबियाको जी नाइन १७५१ विमानमार्फत आज १ सय ६५ जना छन् । यस्तै आजै माल्दिभस्बाट पनि १ सय ५६ जना नेपाली स्वदेश फर्किएका छन् । हिमालयन एयरलायन्स एच–नाइट ८७२ कलसाइनको चार्टर विमानमार्फत उनीहरु साँझ ६ बजे काठमाडौं अवतरण गरेका हुन् । यस्तै बहराइनबाट पहिलो उडानमार्फत आज बिहान १ सय ५० जना नेपाली स्वदेश आइपुगेका छन् । 

कोरोना कहरको कारण समस्यामा परेका नेपालीहरु नेपाल एअरलाइन्सको चार्टर्ड जहाज एन ए २३७६ मार्फत विहान ९ बजे स्वदेश फर्किएका हुन् । जहाजमा तीन नेपालीको शव पनि ल्याइएको छ । यस्तै आजै पाकिस्तानबाट पनि ७२ जना स्वदेश फर्किएका छन् । कुवेतमा आममाफी पाएका १ सय ६० जना नेपाली पनि आजै स्वदेश फर्किएका छन् । 

हालसम्म कोरोना महामारीका कारण विदेशमा अलपत्र ६ हजार ४ सय ८२ जना नेपाली नेपाल फर्किसकेका छन् । गत जेठ २३ गतेदेखि विभिन्न १८ मुलुकबाट यो संख्यामा नेपाली स्वदेश फर्किएका हुन् ।

हालसम्म साउदीबाट ४ सय १ जना, यूएईबाट एक हजार ८५ जना, कतारबाट १ सय ९२ जना, कुवेतबाट एक हजार दुई सय १४ जनाको उद्धार गरिएको छ  यसैगरी कोरियाबाट २ सय २८ जना, मलेसियाबाट ५१७ जनाको उद्धार गरिएको छ । यस्तै जापानबाट २४८, अष्ट्रेलियाबाट ११, म्यानमारबाट २६, अफगानिस्तानबाट, १८, बंगलादेशबाट ८१५, हङकङबाट १७, ओमानबाट ३१३, श्रीलंकाबाट ५, माल्दिभ्स्बाट ३०८, थाइल्याण्डबाट २४८, सिंगापुर र कम्बोडियाबाट संयुक्त उडानमार्फत १ सय ४६, जनाको उद्धार गरिएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले जानकारी दिएको छ । यस्तै आजसम्म ४४ वटा शव नेपाल ल्याइएको सीसीएमसीले जनाएको छ । 


प्रतिक्रिया