रोटा भाइरस विरुद्धको खोप आजबाट शूरु

असार १८, २०७७ | काठमाडौं

– सरकारले रोटा भाइरस विरुद्धको खोप आजबाट शूरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक कार्यक्रम मार्फत खोपको शूरुवात गरेको स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखा प्रमुख डा.झलक शर्मा गौतमले जानकारी दिनुभयो । योसंगै अब सरकारले उपलब्ध गराउने नियमित खोपको संख्या १२ पुगेको छ ।

 हरेक वर्ष ५ वर्ष मुनीका करिब १२ लाख बालबालिका झाडापखालाबाट प्रभावित हुने गरेका छन् । यसमध्ये ४ लाख रोटा भाइरसकै कारणले प्रभावित हुने गर्दछन् । रोटा भाइरसले बालबालिकाको आन्द्रामा संक्रमण गराएर पखाला र वान्ता हुँदा जलवियोजन भएर बालबालिकाको मृत्यु हुने गरेको डा. गौतमको भनाई छ । रोटा भाइरस विरुद्धको खोप लगाएसंगै अब यसबाट हुने मृत्यूदरमा कमी आउने सरकारी लक्ष्य रहेको उहाँको भनाई छ । रोटा भ्याक्सिन जन्मेको ६ र १० हप्तामा दिइने खोप हो । 

यसैबीच सरकारले सञ्चालन गरेको राष्ट्रिय दादुरा रुबेला खोप अभियान अन्तिम चरणमा पुगेको पनि डा गौतमले बताउनुभयो । अन्तिम अवस्थामा काठमाण्डौं महानगरका केही वडाहरुमा कार्यक्रम सञ्चालन भइरहेका छन् ।   


प्रतिक्रिया