बमजनविरुद्ध बाल यौन शोषणको मुद्दा दायर

असार १९, २०७७ | सर्लाही

लिटिल बुद्ध भनिने रामबहादुर बम्जनविरुद्ध सर्लाहीस्थित जिल्ला अदालतमा बाल यौन शोषणको आरोपमा मुद्दा दर्ता भएको छ । मतियारको रुपमा रहेका उनका दुई सहयोगीलाई पनि सजायको माग गरिएको छ । 

सर्लाहीको पत्थरकोटस्थित बम्जनको आश्रमस्थलमा आनी बनेर बसेकी एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोप लगाउँदै बम्जनविरुद्ध बाल यौन शोषणको मुद्दा परेको हो । आश्रमस्थलमै आनी बनेर बसेकी एक बालिकालाई विभिन्न किसिमको प्रलोभन देखाइ ०७३ साल साउन २० गते राति जबर्जस्ती करणी गरेको र पीडितलाई डर धम्की देखाइएको मुद्दामा उल्लेख छ ।

घटना भएको बेला पीडित १५ वर्षकी मात्र थिइन् । उनी १८ वर्षकी भएपछि गत माघ २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो ।

अदालतको अनुमति लिएर प्रतिवादी बम्जनसहित उनका दुई मतियारलाई पक्राउ गर्न भनिएपनि समयमा प्रहरीले उनीहरुलाई पक्राउ गर्न सकेन । पक्राउको अन्तिम म्याद भएपछि जिल्ला सरकारी वकिलको कार्यालयले बम्जनविरुद्ध मुद्दा दायर गरेको जिल्ला न्यायधिवक्ता केशवप्रसाद गौतमले बताउनुभयो । बम्जनविरुद्ध १२ देखि १४ वर्षसम्मको सजायको माग दाबी गरिएको छ ।

पीडितलाई क्षतिपूर्ति भराउने माग दाबीसहित अभियोग पत्र पनि दर्ता गराइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । बम्जनलाई लुकाउने छिपाउने कार्यमा संलग्न उनका दुई मतियार ज्ञानकुमार बम्जन र जेवी गुरङ भनिने जीतबहादुर तामाङलाई पनि कसुरदारको आधा सजायको माग दाबी गरिएको छ । बम्जनसहित उनका दुई मतियार हाल फरार छन् । 


प्रतिक्रिया