नेकपा विवाद समाधानका लागि आज पनि शीर्ष तहमा छलफल हुने

 फाइल तस्बिर

असार २२, २०७७ | काठमाडौं

पार्टीभित्र आन्तरिक ध्रुबिकरण तिब्र बनिरहेका बेला नेकपा विवाद समाधानका लागि आज पनि शीर्ष तहमा छलफल हुने भएको छ । स्थायी कमिटी बैठक अघि दुई अध्यक्षबिच विवाद समाधानको अन्तिम प्रयास हुने नेकपाले जनाएको छ । 

स्थायी कमिटी बैठक बिहान ११ बजेका लागि बोलाईएको छ । त्यसअघि प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच समहतिको प्रयास हुने दाहालको सचिवालयले जनाएको छ । हिजो थप २–२ जना नेतालाई समेत राखेर भएको छलफललाई आज पनि निरन्तरता दिने गरी छलफलको तयारी भईरहेको छ । 

यद्यपी दुबै पक्ष आआफ्नो अडानमा कायम रहेकाले निचोड निस्कने संभावना न्युन बन्दै गएको छ । २ अध्यक्षबिचको छलफलले गर्ने निर्णयका आधारमा स्थायी कमिटीको बैठकमा थप छलफलको एजेण्डा तय हुने नेताहरुले बताएका छन् ।

तर वरिष्ठ नेता झलनाथ खनालले दुई अध्यक्षबीच जे सहमती भएपनि स्थायी कमिटी बैठकले ठोस निर्णय गरेर अघि बढ्ने दाबी गर्नुभयो । सहमतिका लागि पटक पटक बैठक स्थगित भएको र दुई अध्यक्षबिच यो बिचमा सहमतीको लामो प्रयास भएको बताउदै नेता खनालले स्थायी कमिटी बैठकबाट स्पष्ट निर्णय लिएर अघि बढ्ने उल्लेख गर्नुभयो । दाहाल–नेपाल पक्षले प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पद छाड्न दबाव दिदै आएका छन् । ओली दुबै पद नछाड्ने अडानमा छन् ।

यसैबिच नेकपा भित्रको विवाद उत्कर्षमा पुगेका बेला चिनियाँ राजदुत होउ यान्छीको सक्रियता बढेको छ । राजदुत यान्छीले गएराती बरिष्ठ नेता माधवकुमार नेपालसंग भेटवार्ता गर्नुभएको थियो । छलफलको बिषय बाहिर नआएपनि नेकपा फुटको दिशामा अघि बढेका बेला भएको यो भेटवार्तालाई अर्थपुर्ण रुपमा हेरिएको छ । 


प्रतिक्रिया