मास्क नलगाई हिँड्ने २ सय जना प्रहरी नियन्त्रणमा

धरान प्रहरीको नियन्त्रणमा मास्क नलगाई हिँड्नेहरु । तस्बिर: प्रदीप मेन्याङ्बो /कान्तिपुर  

असार २५, २०७७ | सुनसरी

बिहान मर्निङवाकको बहाना बनाएर सदन रोडबाट हिँड्दै धरानको भानुचोक निस्केका धिरज तामाङ र रुविना राईलाई प्रहरीले रोकेर बोलायो । उनीहरुले सोचे, ‘शायद केही सोध्नलाई होला ।’ आपराधिक गतिविधिमा संलग्न नभएकाले सरासर उनी प्रहरीको नजिक पुगेर सोधे, ‘सर हामीलाई किन बोलाउनु भएको हो ?’

प्रहरीले ‘किन मास्क नलगाएको ?’ भन्दै नजिकैको वडा प्रहरी कार्यालयमा लग्यो । त्यहाँ पुग्दा उनीहरु जस्तै मास्क नलगाएका महिला पुरुषहरु २० जनालाई लहरै उभ्याएको देखेपछि ‘मास्क नै नलगाइ मर्निङवाकमा निस्कँदा एका बिहानै प्रहरीको कारबाहीमा परिएको’ चाल पाए । मास्क नलगाई हिँड्दा धिरज र रुविना जस्ता धेरै जनाले धरानको वडा प्रहरी कार्यालयमा दुई घण्टा उभिएर कोरोना माहामारीको बारेमा प्रहरीले दिएको ‘लेक्चर’ सुन्नु पर्‍यो ।

गृह मन्त्रालयको निर्देशनपछि धरानमा मास्क नलगाई हिँड्नेलाई नियन्त्रण्मा लिएर कोरोना महामारी र मास्कको उपयोगिता बारे जानकारी दिएर दुई घण्टापछि घर पठाउने गरेको छ । वडा इञ्चार्ज प्रहरी सहायक निरीक्षक हेम लिम्बुका अनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु र संक्रमितको संख्या दिनदिनै बढेको बेला माक्स नलगाई हिँड्डुल गर्नेलाई नियन्त्रणमा लिन थालेको हो । 

शैक्षिक संस्था, सार्वजनिक सवारी साधन, होटल रेस्टुरेन्ट बाहेक लकडाउनमा अरु गतिविधि बढेसँगै बजार क्षेत्रमा मानिसको भिड हुन थालेपछि प्रहरीले मास्क नलगाई हिँड्डुल गर्नेलाई नियन्त्रणमा लिन थालेको प्रहरी सहायक निरीक्षक लिङ्देनले बताउनुभयो । कतिपयले गोजीमा मास्क राख्ने तर नलगाउने गरेको पनि पाइएको लिङ्देनले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मास्क किन नलगाएको भनेर सोधेपछि मात्र कतिपयले गोजीबाट निकालेर लगाउने गरेका छन् । आफ्नै स्वास्थ्यको ख्याल आफै गर्नु पर्नेमा लापर्वाही गर्ने धेरै देखिए ।’

उहाँकाअनुसार दुई दिनमा करीब २ सय जनालाई नियन्त्रणमा लिएर कोरोना क्लास दिएर घर पठाइएको छ । उहाँले भन्नुभयो, ‘बिहीबार बिहान मात्र ९५ जना भन्दा बढीलाई नियन्त्रणमा लिएर मास्क लगाउन सुझाव दिंदै घर पठायौं । विश्वव्यापी कोरोना महामारी चलिरहेको छ । लकडाउन छ । विश्व स्वास्थ्य संगठनले सामाजिक दूरी र मास्क अनिवार्य भनेर प्रोटोकल नै बनाइसकेको छ । तै पनि मानिसहरु लापरबाही गरिरहेछन् । त्यस्ता लापरबाही गर्नेलाई बाटैबाट नियन्त्रणमा लिएर वडा कार्यालयमा ल्याई कोरोना क्लास दिने र मास्क अनिवार्य लगाएर हिँड्न भनेर सम्झाएर घर पठाउने गरेका छौं ।’

नियन्त्रणमा लिइएका अधिकांशले घरदेखि बाहिर निस्कंदा मास्क लगाउन बिर्सेको प्रतिक्रिया दिने गरेकाले कोरोना माहामारी प्रति अझै संवेदनशील हुन नसकेको उहाँको भनाई छ । सर्वसाधारणमा कोरोनाको त्रास भएपनि लकडाउन खुकुलो भएपछि सरकारी कार्यालय, बैंक, पसल, अस्पतालहरुमा सामाजिक दूरी कायम नगरी माक्स बिना पुग्नेहरुको संख्या अनगिन्ती देखिएको प्रहरी सहायक निरीक्षक लिङ्देनले बताउनुभयो । 

गृह मन्त्रालयको निर्देशन अनुसार सुनसरी जिल्ला प्रशासनले शुक्रबार मातहतका निकायमा मास्क नलगाई हिँड्नेलाई कारबाही गर्न निर्देशन दिएपछि धरानमा कडाई गर्न थालेको प्रहरी सहायक निरीक्षक लिङ्देनले बताउनुभयो ।


प्रतिक्रिया