बाढी पहिरोले बारेकोटका ३ सय परिवार विस्थापित

पहिरोको जोखिम बढेपछि घर छाडेर स्थानीय विद्यालयको एक कोठामा कोचाकोच गरी बस्न बाध्य भएका बारेकोट–४, सार्कीगाउँका महिला तथा बालबालिका । तस्बिर : भीमबहादुर सिंह/रेडियो कान्तिपुर ।  

असार २७, २०७७ | जाजरकोट

बाढी र पहिरोका कारण जाजरकोटको बारेकोट गाउँपालिकाका ३ सय घरपरिवार विस्थापित भएका छन् । तीन दिनदेखिको लगातारको वर्षाका कारण गाउँबस्तीमा पहिरो झरेपछि स्थानीय विस्थापित भएका हुन् । 

पहिरोले बारेकोट–४ मैनाका ६० घरपरिवार, सार्की गाउँका १०, वडा नम्बर–५ तोलखानका ९०, कालाखोलीका ३६, पाखाका ४०, भैलोखानाका ३०, वडा नम्बर १ धौलाकोटका ३२ र वडा नम्बर २ रोकाय गाउँका १२ घरपरिवार विस्थापित भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंहले बताउनुभयो ।

पहिरोले विस्थापित भएपछि स्थानीय बासिन्दा विद्यालय, जंगलको खाली चौर, गोठ लगायत स्थानमा बस्न बाध्य छन् । भीषण वर्षाका कारण बारेकोट गाउँपालिकाको अधिकांश गाउँमा बाढी पहिरो जाने क्रम नरोकिएको उहाँले बताउनुभयो । ठाउँ ठाउँमा बाढी र पहिरो आएपछि एक घरबाट अर्को घरसम्म आउजाउ गर्न समेत बन्द भएको उहाँले बताउनुभयो । 

बारेकोट गाउँपालिकाको जिरी, मैना, भैलोखाना, तोलखान, करुका, कार्कीजिउला, घर्तीगाउँ, सुवाकोट लगायत डेढ दर्जन गाउँका बासिन्दा पहिरोको उच्च जोखिममा रहेको सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, ‘शनिबारसम्म पानी पर्न नरोकिएकाले अन्य गाउँका घर पनि जोखिममा छन् ।’

जाजरकोटमा तीन दिन यता बाढी पहिरोको कारण ९ को मृत्यु भएको छ भने ६ जना अझै बेपत्ता छन् । त्यस्तै, बाढी पहिरोमा परेर २ जना गम्भीर घाइते भएका छन् । बिहीबार राति आएको पहिरोले बारेकोट–४ सार्कीगाउँका दुई घर बगाउँदा ९ जनाको मृत्यु भएको हो ।

३ जना बेपत्ता भएको जाजरकोटका प्रहरी प्रमुख किशोर कुमार श्रेष्ठले बताउनुभयो । पहिरोमा परेर सार्की गाउँका ५२ वर्षीय गोपाल सार्की, ११ वर्षीय अर्जुन सार्की, १४ वर्षीय तिर्खा सार्की, ६ वर्षीय सुभास सार्की, २० वर्षीय डिल्ली सार्की, १४ वर्षीय गौरी सार्की, १६ वर्षीय कविता सार्की, १८ वर्षीय बीरेन्द्र सार्की र ३६ वर्षीय कलु सार्कीको मृत्यु भएको हो । 

पहिरोमा परेका पुष्पा सार्की, लक्ष्मी सार्की र कमला सार्की बेपत्ता छन् । खहरे खोलामा आएको बाढीले बगाएर बारेकोट–६ धुमाका २० वर्षीय शान्तबहादुर चलाउने र १० वर्षीय प्रचण्ड चलाउने पनि बेपत्ता रहेको प्रहरी प्रमुख श्रेष्ठले बताउनुभयो ।

साना खोलाले बगाएर जुनीचाँदे गाउँपालिका–११ कोर्ताङ्गका डिल्लीबहादुर चदारा पनि बेपत्ता भएका छन् । पहिरोले घर भत्किंदा घाइते भएका बारेकोट–४ दहका लालबहादुर नेपाली र खोलाले बगाउँदा घाइते भएका वडा नम्बर–६ धुमका रामचन्द्र महतारालाई नेपाली सेनाको हेलिकप्टरद्वारा उपचारका लागि नेपालगञ्ज तर्फ लिएको प्रहरी नायब उपरिक्षक श्रेष्ठले बताउनुभयो ।

बाढी र पहिरोमा परी बेपत्ता भएकाको खोजी कार्य जारी रहेको उहाँले जानकारी दिनुभयो । शनिबार बिहानै देखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा लगायत घटना स्थल पुगेर पहिरोमा पुरिएकाको खोजी गरिरहेको उहाँले बताउनुभयो ।

सार्कीगाउँको पहिरो स्थलको भूगोल भिरालो तथा अप्ठेरो भएकाले पहिरो खस्ने क्रम जारी छ । मौसम प्रतिमूलताका कारण बेपत्ता भएकाको खोजी तथा उद्धारमा कठिनाई भएको उहाँको भनाई छ । बारेकोट गाउँपालिका र स्थानीय प्रशासनले पहिरोको जोखिम रहेका गाउँका बासिन्दालाई सुरक्षित स्थानमा गएर बस्न आग्रह गरेको छ । समयमा सर्तकता नअपनाए बाढी पहिरोले बारेकोटमा ठूलो जनधनको क्षति हुने उहाँले बताउनुभयो । सार्कीगाउँको घटनास्थल सदरमुकाम खलंगा देखि ९० किलोमिटर उत्तरमा पर्छ ।


प्रतिक्रिया