तनहुँमा पहिरोमा परेर २ को मृत्यु, १० बेपत्ता (अपडेट)

असार २९, २०७७ | तनहुँ

अविरल वर्षापछि आएको पहिरोमा पुरिएर तनहुँमा २ जनाको मृत्यु भएको छ । अन्य १० बेपत्ता भएका छन । 

म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा माथिबाट आएको पहिरोले घर भत्किदा १७ वर्षीया लक्ष्मी बिकको मृत्यु भएको जिल्ला प्रहरीका डिएसपी युवराज तिमिल्सिनाले बताउनुभयो । गम्भीर घाइते बिकको उपचारको क्रममा रत्नहरी अस्पताल दमौलीमा मृत्यु भएको हो । ब्यास नगरपालिका–९ माझफाँटकी ७० वर्षीया मैतकुमारी घर्तीको पनि पहिरोमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रिसिङ गाउँपालिका–८ पल्ट्याङमा पहिरोमा पुरिएर अनबहादुर थापासहति उनका परिवारका ५ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा अनबहादुरका छोराहरु भेषबहादुर र महादेव, बुहारीहरु नानुमाया र मनिसरा तथा ५ वर्षकी नातिनी अमिषा छन । यसैगरी ब्यास नगरपालिका–९ माझफाँटमा केशरबहादुर थापाका ४ सदस्य पनि बेपत्ता भएका छन । केशरबहादुरकी श्रीमती कमला, छोराहरु मनोज र राजेश तथा छोरी अन्जना थापा बेपत्ता भएको प्रहरीले जनाएको छ । ब्यास–११ ओरालेमा पहिरोले पुरिएर बेपत्ता भएका एक जनाको पहिचान हुन सकेको छैन ।

प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीका अनुसार तनहुँकै रिसिङ–८ की ६० वर्षीया ज्योतिमाया थापाको घाइते अवस्थामा उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ ।

पहिरोमा बेपत्ता भएकोको खोजीकार्य, घाइतेको उद्धार तथा अन्य क्षति विवरण संकलन भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 


प्रतिक्रिया