१५२ घरपरिवारलाई सोलार र दोश्रो चरणको राहत वितरण

पौवादुङमा गाउँपालिकाले अतिविपन्न तथा गरीब परिवारलाई सोलार वितरण गर्दै प्रमुख जिल्ला अधिकारी तथा गाउापालिका प्रमुख । तस्बिर : एलिसा श्रेष्ठ 

असार २९, २०७७ | भोजपुर

भोजपुरको पौवादुङमा गाउँपालिकाले अतिविपन्न तथा गरीब परिवारलाई सोलार सेटसंगै दोश्रो चरणको राहत वितरण गरेको छ । गाउँपालिका भित्रका अतिविपन्न १ सय ५२ घर परिवारलाई २० वाट क्षमताको सोलार सेट र राहत वितरण गरेको हो ।

गाउँपालिकाले सोलारसँगै ती विपन्न परिवारलाई दोश्रो चरणको राहत समेत वितरण गरेको हो । यसअघि गत वर्षको सुख्खा खडेरी, अमेरिकन फौजी कीराबाट प्रभावित करीब तीन हजार स्थानीयलाई राहत दिएको भएपनि दोश्रो चरणमा अतिविपन्न परिवारलाई मात्र राहत दिएको गाउँपालिकाले जानकारी दिएको छ ।

तत्काल विद्युत सेवा पुग्न नसकेका भौगोलिक विकटता भएको स्थानमा रहेका स्थानीयलाई लक्षित गरेर सोलार वितरण गरिएको गाउँपालिकाले जनाएको छ । अतिविपन्न घरपरिवारलाई विद्युतको पहुँच पुर्‍याउने उद्देश्यले सोलार सेट वितरण गरिएको गाउँपालिकाका अध्यक्ष किरण राईले बताउनुभयो ।

आर्थिक अभावका कारण टुकिको उज्यालोमा वस्नु पर्ने बाध्यताको अन्त्य भएको स्थानीय पासाङ तामाङले सुनाए । उनले भने, ‘भौगोलिक विकटताका कारण हाम्रो ठाउँमा विद्युत आउन ढिलाई भयो । गाउँपालिकाले दिएको सोलारले अध्यारोमा बस्नु पर्ने अवस्थाको अन्त्य भएको छ ।’

गाउँपालिकाको संघीय सरकारको शसर्त अनुदान तर्फको वैकल्पिक सौर्य उर्जा कार्यक्रम अन्तर्गत आएको ११ लाख ३१ हजार बजेटबाट वडा नम्बर १ श्यामशिलाका २५ परिवार, २ तिवरी भञ्याङका १५ परिवार, ३ च्याङ्ग्रेका २० परिवार र वडा नम्बर ४ बास्तीका ३३ परिवारलाई सोलार वितरण गरेको हो । त्यस्तै, वडा नम्बर ५ सानोदुम्माका २५ परिवार र वडा नम्बर ६ ठूलो दुम्माका ३० गरी १ सय ५२ घर परिवारलाई सोलार सेट वितरण गरिएको हो ।


प्रतिक्रिया