खाँडो र जिता खोलाको बाढीले सप्तरीका ९० घर डुबानमा

खाँडो खोलाको बाढीले बस्ती डुबानमा परेपछि बस्तीबाट बाहिरिंदै तिलाठी कोईलाडी–१ बेलहीका स्थानीय । तस्बिर : अवधेश/रेडियो कान्तिपुर । 

असार २९, २०७७ | राजविराज

सप्तरीको खाँडो खोलाको बाढी बस्तीमा पस्दा तिलाठी कोईलाडी गाउँपालिका–१ को बेल्ही टोलका ५० घर डुबानमा परेका छन् । ती घरहरुमा दुईफिट सम्म पानी जमेको गाउँपालिकाका विपद ब्यवस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिनुभयो । 

पानी पसेका घरमा सर्वसाधारण घर भित्रै खाटमा आश्रय लिएर बसेका छन् । खाँडोको तटबन्ध पूर्ण रुपमा निर्माण हुन नसक्दा तिलाठी कोईलाडी–१ को बेल्ही बस्ती हरेक वर्ष डुबानमा पर्दै आएको छ । 

खाँडो खोलामा आएको बाढीका कारण बेल्ही भन्सार बजार समेत डुबानमा परेको छ । सो ठाउँमा रहेको भन्सार कार्यालय, सशस्त्र तथा नेपाल प्रहरीको चौकी समेत डुबानमा परेको छ । राजविराज तिलाठी सडकखण्डका दुई ठाउँमा बाढीले क्षति पुर्‍याएको छ ।

खाँडो खोलाको बाढीका कारण डुबानमा परेको तिलाठी कोईलाडी–१ को बेल्ही बस्ती । तस्बिर : अवधेश/रेडियो कान्तिपुर

भन्सार बजारको पसलहरु डुबानमा पर्दा स्थानीय ब्यापारीहरुको लाखौंको क्षति भएको छ । यसैबीच खाँडो खोलामा दुईदिन यता शवहरु बग्न थालेपछि स्थानीय त्रसित भएका छन् भने दुर्गन्ध फैलिने गरेको लौनियाका गजेन्द्र मण्डलले बताए । ती शवहरु कहाँबाट आए भन्ने खुल्न सकेको छैन् ।

खाँडो खोलाको बाढीले सयौं बिघामा लगाइएको धानबाली समेत डुबानमा परेको छ । यस्तै, जिता खोलामा आएको बाढीका कारण तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर ४ र ५ का ४० घर डुबानमा परेको विपद ब्यवस्थापन अधिकृत झाले जानकारी दिनुभयो ।


प्रतिक्रिया