आइतबारबाट बाँकेमा पुन: निषेधाज्ञा

श्रावण १५, २०७७ | नेपालगञ्ज

कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले आगामी आइतबारबाट पुन: निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले आइतबारदेखि तीन दिनसम्म पुन: निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । 

‘एकैदिन धेरै जनामा कोरोना संक्रमण पुष्टि भएपछि आइतबारदेखि ३ दिनसम्म बाँके जिल्लाभरि पूर्ण रूपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेका हौं’ प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले भन्नुभयो, ‘अत्यावश्यक काम बाहेक आदेश उल्लंघन गर्नेलाई कारबाही गरिने छ ।’ 

जिल्लामा कोरोना संक्रमण थप फैलन नदिन तथा यसको रोकथाम, नियन्त्रण उपचार तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन तीन दिनसम्म बाँकेमा निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रजिअ कुरुम्बाङले बताउनुभयो । 

निषेधाज्ञा अवधिभर औषधि उपचार तथा अन्य अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिलाई घरबाहिर आवतजावत नगर्न भनेको छ । स्वास्थ्य, खानेपानी, दूध, विद्युत, दमकल, सञ्चार, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, औषधि जस्ता अति आवश्यक सेवा बाहेक अन्य सम्पूर्ण पसल, उद्योग, व्यवसाय, सेवा सञ्चालन बन्द गर्ने निर्णय भएको छ । 

यसअघि गत जेठ १४ गते जिल्लामा कोरोना संक्रमित हुनेको संख्या बढ्दै गएपछि बाँके प्रशासनले लकडाउनकै बीच दोस्रोपटक पूर्ण निषेधित क्षेत्र घोषणा गरेको थियो । सीडीओ कुरुवाङ्गको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको पहिलो बैठकले कोरोना भाइरसको संक्रमण रोक्न अत्यावश्यक काम तोकेर त्यस बाहेकका कामलाई हिँडडुल समेत रोक्ने निर्णय गरेको थियो । 

स्थिति सम्हाल्न नसकेको भनेर तत्कालीन सीडीओलाई बाँकेबाट हटाएर कुरुवाङ्गलाई ल्याइएको थियो । यसअघि बाँकेमा पहिलो पटक बैशाख २२ गतेदेखि २५ गतेसम्म निषेधित क्षेत्र घोषणा गरिएको थियो । 


प्रतिक्रिया