कोरोना संक्रमण फैलिएको क्षेत्रमा कांग्रेसको भेला

श्रावण १९, २०७७ | बझाङ

कोरोना भाइरसको संक्रमणको जोखिम बढीरहेका बेला बझाङमा भने सयौंको संख्यामा मानिसहरु जम्मा भएर मेला मनाउन थालेका छन् । नेपाली कांग्रेसले संक्रमण बढी फैलिएका क्षेत्रहरुमा पनि भेला तथा आमसभाहरु आयोजना गर्न थालेको छ । 

कोरोना संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गरी सरकारले २५ जना भन्दा बढी भेला हुने सभा, सम्मेलन, गोष्ठी, भोजभतेर, धार्मिक कार्यक्रममा रोक लगाएको भएपनि बझाङमा भने यसको उल्लंघन भईरहेको छ ।

क्वारेन्टिनबाट घर फकाईएका ७६ जनामा एकै पटक संक्रमण देखिएपछि जोखिम बढेको भन्दै जिल्ला प्रशाशन कार्यालय बझाङले थलारा र केदारस्युँ गाउँपालिकाका तीन वटा वडालाई सिल गरेको छ । 

जिल्लाका अन्य स्थानीय तहमा पनि संक्रमणको जोखिम उच्च रहेको छ । तर, स्थानीयले भने जोखिमको बेवास्ता गर्दै जिल्लाको प्रशिद्ध विरिजात मेला मनाईरहेका छन् । पाँच दिनसम्म चल्ने यो मेलामा जिल्लाका विभिन्न ठाउँबाट आएका दुई हजार भन्दा बढीको सहभागिता रहेको स्थानीयले बताएका छन् ।

यसैबीच, नेपाली कांग्रेसले पनि मानिसहरु भेला गरेर विभिन्न ठाउँमा आमसभाहरु गर्न थालेको छ । कांग्रेसले आइतबार र सोमबार संक्रमण फैलिएर जोखिममा बढेको भन्दै एउटा वडा सिल गरेको थलारा गाउँपालिकाका विभिन्न गाउँमा आमसभा गरेको थियो । 

महिला संघ, तरुण दल लगायत कांग्रेसका भ्रातृ संगठनहरुको भेलामा ठूलो संख्यामा मानिसहरु सहभागी हुने गरेको भएपनि सामाजिक दूरी कायम गर्ने लगायत सुरक्षाका कुनै उपाय भने अपनाइएको छैन ।

‘जोखिम बढेको बेला गाउँमा कार्यक्रम गर्न त नहुने हो । अधिवेशनको माहौल भएकाले साथीहरुले भ्रातृ संगठनको भेला गरिरहेका छन्’ नेपाली कांग्रेसका जिल्ला सभापति हर्कजंग बहादुर सिंहले भन्नुभयो, ‘मंगलबारसम्म यस विषयमा छलफल गरेर एउटा निर्णयमा पुग्ने छौं ।’ 


प्रतिक्रिया