स्थिर सरकार नहुँदा संसदीय भूमिका प्रभावकारी भएन : सभामुख घिमिरे

वैशाख १५, २०८१ | पाल्पा

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले स्थिर सरकार नहुँदा संसदीय भूमिका प्रभावकारी हुन नसकेको बताउनु भएको छ । उहाँले संसदीय भूमिका प्रभावकारी बनाउन सुशासन आवश्यक रहेको र त्यसका लागि सरकारको स्थायित्व जरुरी भएको समेत बताउनुभयो । 

पाल्पाको तानसेनमा पत्रकार महासंघ जिल्ला शाखाले शनिबार आयोजना गरेको पत्रकार भेटमा बोल्दै सभामुख घिमिरेले सरकारको स्थायित्व नहुँदा संसदीय व्यवस्थामा धेरै असर गरेको बताउनुभयो । ‘अब निर्वाचन पद्धतीलाई नै नयाँ ढंगले सोच्नुपर्ने बेला आएको छ,’ उहाँले भन्नुभयो, ‘निर्वाचन सरल, स्वभाविक ढंगबाट लाने प्रबन्ध गर्नुपर्ने हुन्छ ।’

सभामुख घिमिरेले निर्वाचित जनप्रतिनिधिको स्थिर सरकार बन्नका लागि बहुमत आउने खालको प्रणालीको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । सभामुख घिमिरेले यी विषयमा समेत बहस र छलफल हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । 

ऐन कानूनहरु बन्नुअघि ध्यान दिनुपर्ने कुराहरु के के हुन सक्छन् र कानून बनेपछि कार्यान्वयन कसरी भएको छ भन्ने विषयमा समेत ध्यानदिनुपर्ने उहाँको भनाई छ । 

कानून बनेपछि यसको प्रभावकारिताका विषयमा समेत संघीय र प्रदेशसभाका सभामुख, उपसभामुखले सरकारलाई निर्देशन र सहयोग गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

 ‘कानून कार्यान्वयन गर्नका लागि सरकारले केके कुरामा ध्यान दिनुपर्छ,’ उहाँले भन्नुभयो, ‘सुधार्नुपर्ने वा संशोधन गर्नुपर्ने भएमा कार्यान्वयनमा के समस्या देखियो भन्ने विषयमा समेत ध्यान दिनुपर्छ ।’

लुम्बिनी प्रदेश सभाले पाल्पाको तानसेनमा राखेको अन्तरव्यवस्थापिका भेलामा सहभागी हुन पुगेका सभामुख घिमिरेले पूर्वविद्यायकी, विद्यायकी र उत्तरविद्यायकीका विषयमा छलफल हुनुपर्ने धारणा राख्नुभयो । यसको महत्वलाई कार्यान्वयन गर्नका लागि अध्ययन गर्नुपर्नेमा उहाँको जोड थियो । 

संघ र प्रदेशको बीचबाट उत्तरविद्यायकी कार्यलाई अघि लैजानुपर्छ भन्ने योजना बनाउनुपर्ने सभामुख घिमिरेले बताउनुभयो । 


प्रतिक्रिया