कोरोना संक्रमणले मोरङको पुरानो बजार रंगेली बन्द

श्रावण २०, २०७७ | मोरङ

एक व्यावसायिक परिवारका १४ जनामा कोरोना संक्रमणको पुष्टि भए पछि स्थानीय निकायले मोरङको पुरानो बजार रंगेली आजदेखि अनिश्चितकालकालागि बन्द गरेको छ । 

रंगेली नगरपालिकाले अर्को सूचना नहुन्जेलसम्मकालागि अस्पताल पनि पूर्ण रुपमा बन्द गरेको छ । हिजोको पीसीआर रिपोर्टमा सो परिवार बाहेक विद्युत प्राधिकरण रंगेली शाखाका पाँच र अस्पतालका तीन कर्मचारी समेत २२ जनामा कोरोना पुष्टि भएको हो ।

नगरपालिकाद्वारा जारी विज्ञप्तिमा रंगेली बजारको पूर्वमा मधुवनी चोक र पिपल चोकदेखि सुनवर्षी नगरपालिकाको सीमाना, पश्चिममा चिस्याङ खोला, उत्तरमा निचामारी बक्राहा खोला पुल र दक्षिणमा भन्सार गेटसम्म पर्ने वडा न.ं६, ७ र ८ को एरिया सोमबार मध्यराति देखि अर्को सूचना प्रकाशित नहुन्जेल सिल गरिएको उल्लेख छ ।

रंगेली अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा.रोहेन्द्र पाण्डेले संक्रमितहरुको उपचारको प्रबन्ध, उनीहरुको सम्पर्कमा आएका झन्डै २ सय जनाको स्वाब परीक्षण र क्वारेन्टाइन व्यवस्थापन गर्नुपर्ने भएकोले बजार, अस्पताल एवं कार्यालयहरु बन्द गरिएको बताउनुभयो । आवागमन प्रयोजनकालागि सशुल्क पीसीआर गराउँदा रंगेली बजारका एकै परिवारको १४ जनामा संक्रमण देखिएको डा.पाण्डले बताउनुभयो । 


प्रतिक्रिया