दुई सहायक वन अधिकृत सहित ६ वन कर्मचारी अख्तियारको नियन्त्रणमा

श्रावण २८, २०७७ | उदयपुर

– उदयपुरका २ सहायक वन अधिकृत सहित ६ वन कर्मचारीलाई अख्तियारले नियन्त्रणमा लिएको छ । घुस लिएको आरोपमा प्रहरी नियन्त्रणमा रहेका ६ वन कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ईटहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको हो । आयोगका प्रवक्ता तारानाथ अधिकारीले जारी गरेको विज्ञप्तिमा सव डिभिजन वन कार्यालय मैनामैनी प्रमुख/सहायक वन अधिकृत शिवनारायण यादव समेतले सेवाग्राहीसग १७ हजार रुपैयाँ घुस र रिसवत लिएको भन्ने उजुरी परेको उल्लेख छ । उजुरीका आधारमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले घुस सहित कर्मचारीलाई पक्राउ गरेको विज्ञप्तीमा उल्लेख छ ।

सहायक वन अधिकृत यादव, सव– डिभिजन वन कार्यालय लालबजार रामपुरका प्रमुख/सहायक वन अधिकृत बिनोद कुमार साह, फोरेष्टर रमेश राई, सव– डिभिजन वन कार्यालय मैनामैनीमा कार्यरत फोरेष्टर विशेश्वर चौधरी, वन रक्षक द्वय शैलेन्द्र झा र मनोज कुमार राउतलाई इलाका प्रहरी कार्यालय रामपुरले हिजै आयोगको कार्यालय इटहरीमा बुझाएको विज्ञप्तिमा भनिएको छ । नियन्त्रणमा रहेका ६ कर्मचारीमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताउनुभयो ।  


प्रतिक्रिया