नेकपा भित्रको विवाद समाधान उन्मुख

रेडियो कान्तिपुर संवाददाता

श्रावण २९, २०७७ | काठमाडौं

– आन्तरिक विवादको उत्कर्षमा रहेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्षले समाधान उन्मुख वार्ता गरेका छन् । एक हप्ता भन्दा बढीपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज झण्डै ४ घण्टा चलेको छलफल सकारात्मक भएको दाहालको सचिवालयले जनाएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिहान साढे ११ बजेदेखि झण्डै ४ घण्टा भएको भेटवार्ता सकारात्मक भएको र भोलि पुन: बस्ने सहमति भएको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले बताउनुभयो ।

भेटका क्रममा महाधिवेशनको कार्यतालिका, अधिकार बाँडफाँड, वैचारिक बहस, आलोचना र आत्मालोचना, मन्त्रिपरिषद् हेरफेर, मुख्यमन्त्रीहरु पनि परिवर्तनलगायतका समग्र विषयमा छलफल भएको बताइएको छ ।

असार १० बाट सुरु स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग भएपछि आन्तरिक विवाद उत्कर्षमा पुगेको थियो । प्रधानमन्त्री ओलीले सचिवालय बैठकमा सहमतिपछि मात्रै स्थायी समिति बस्ने अडान राख्नुभएको थियो । अध्यक्ष दाहाल स्थगित स्थायी समिति बैठक शुरु गर्ने र केन्द्रीय कमिटी बैठक बोलाउनु पर्ने मागबाट पछि नहटेपछि दुई अध्यक्षबीच एक सातादेखि सम्वाद हुन सकेको थिएन ।  


प्रतिक्रिया