सिन्धुपाल्चोकमा भीषण पहिरो, २ जनाको शव फेला, ३६ जना बेपत्ता ( अपडेट)

श्रावण ३०, २०७७ | काठमाडौं

सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा भीषण पहिरो खसेको छ । जुगल गाउँपालिका २ लिदिस्थित लामा टोलमा गएको पहिरोले १३ घर पुर्ण रुपमा पुरिएको गाउँपालिका अध्यक्ष होम बहादुर श्रेष्ठले जानकारी दिनुभयो । पहिरोले थप ३० घर आंशीक रुपमा पुरेको छ ।

हालसम्म २ जनाको शव प्राप्त भएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । ३६ जना बेपत्ता रहेको प्रारम्भीक विवरण प्राप्त भएको उहाँले बताउनुभयो । पहिरोमा ५ परिवारका अधिकांश सदस्य पुरिएको श्रेष्ठले जानकारी दिनुभयो ।

 पहिरोमा फसेका १५ जना भने आफै निस्किएका थिए । थप ५ जनालाई घाईते अवस्थामा उद्धार गरि उपचारका लागि पठाईएको छ । घटनास्थलमा केहिबेर अघि मात्र सुरक्षाकर्मीको टोली पुगेर उद्धार सुरु गरेको छ ।

घटनास्थलमा जाने बाटो समेत नभएको तथा पहिरो खस्ने क्रम नरोकिएकाले उद्धारमा समस्या भएको श्रेष्ठले बताउनुभयो । अहिले सुरक्षाकर्मीसंगै स्थानीयबासी र गाउँपालिकाको टोलीले उद्धार गरिरहेका छन् ।  


प्रतिक्रिया