बझाङमा फैलियो स्क्रब टाइफस

श्रावण ३०, २०७७ | बझाङ

बझाङका विभिन्न पालिकाहरुमा एक हप्ता यता स्क्रब टाइफस रोग फैलिन थालेको छ । जिल्लामा पहिलो पटक देखिएको यो रोगको संक्रमणबाट एक जनाको मृत्यू भैसकेको छ भने एकको अवस्था गम्भिर रहेको छ । विभिन्न पालिकाका नौ जना संक्रमितहरु स्वास्थ्यकर्मीको सम्पर्कमा आएका छन् ।

स्क्रब टाइफसको संक्रमणबाट दुर्गाथली गाउँपालिकाकी २२ वर्षिया पत्रिका चिमाडीको मृत्यू भएको छ । उनको जिल्ला अस्पताल बझाङमा उपचारको क्रममा विहिबार मृत्यू भएको हो । जिल्ला अस्पताल मै उपचाररत एक जना १७ वर्षिया किशोरीको अवस्था पनि चिन्ताजनक रहेको छ ।

जयपृथ्वी राजमार्ग बन्द भएका कारण तत्काल विरामी रिफर गरे पठाउन सकिने अवस्था नरहेको र तराईका अस्पतालहरुमा बुझ्दा आइसियु र भेन्टिलेटरहरु खाली नभएको जानकारी पाएपछि जिल्ला अस्पतालमै उपचार प्रयास गरिरहेको उहाँको भनाई छ । संक्रमणको सुरुवाती चरणमा स्थानिय मेडिकलको औषधी खाएर विरामी घरमै बसेको र अवस्था जटिल भए पछि मात्रै अस्पताल पुर्‍याइएकोले उपचारमा कठिनाई भैरहेको उहाँले बताउनुभयो ।

हाल सम्म थलारा गाउँपालिकाका ३ जना, मष्टा गाउँपालिका र जयपृथ्वी नगरपालिकाका २/२ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको जिल्ला अस्पतालले जानकारी दिएको छ । यस्तै खप्तड छान्ना र दुर्गाथली गाउँपालिकाका एक एक जना गरी जम्मा नौ जना संक्रमितहरु स्वाथ्यकर्मीको सम्पर्कमा आएका छन । डाक्टर खड्काले पाँच वटा पालिकाका नौ जना विरामी अस्पतालको सम्पर्कमा आएको, विरामीहरु शुरुमा घरमै उपचार गर्ने र स्वास्थ्य संस्थामा नआउने भएकोले यो संख्या अझै धेरै हुन सक्ने अनुमान रहेको बताउनुभयो । संक्रमण फैलिएको बारे प्रदेश स्वास्थ्य निर्देशनालयमा जानकारी गराइसकिएको र प्रदेशले महामारी तथा सरुवा रोग नियन्त्रण महाशाखामा परिक्षण किट र औसधीको लागि माग गरेको जिल्ला अस्पतालले जनाएको छ । जिल्ला अस्पतालका प्रमुख डाक्टर संन्दिप ओखेडाले भने ‘उच्च ज्वरो आएका विरामीहरुलाई तत्काल जिल्ला अस्पताल पठाउनका लागि स्वाथ्यकर्मीहरुलाई निर्देशन दिएका र संक्रमण फैलिन सक्ने जोखिमको आंकलन गरेर केही पालिकाहरुलाई स्क्रव टाइफसको उपचारमा प्रयोग गरिने औसधी खरिद गर्न पनि सल्लाह दिइएको बताउनुभयो । ।

मुसा तथा गाइबस्तुको शरिरमा रहने रिकेन्सीया नामको किर्नाले टोके पछि लाग्ने यो रोग बर्षातमा बढी देखिने गरेको भए पनि बझाङ जिल्लामा भने पहिलो पटक देखिएको ओखेडाले बताउनुभयो । सुरुमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने जस्ता लक्षणहरु देखिने यो रोगको समयमा नै उपचार नभए विरामीको ज्यान जाने खतरा उच्च हुने स्वास्थ्यकर्मीहरु बताउँछन ।

यसको रोकथामको लागि घरमा मुसाहरु पस्न नमिल्ने गरि घर भित्र र बाहिरको सरसफाई गर्ने, व्यक्तीगत सरसफाइमा ध्यान दिने तथा पशुबस्तुको सम्पर्कमा जाँदा सावधानी अपनाउनु पर्ने स्वास्थ्यकर्मीको सुझाव छ । 


प्रतिक्रिया