अछाममा बाढीपहिरो बितण्डा: ४ जनाको मृत्यु, दर्जनौं परिवार बिस्थापित

भाद्र ३, २०७७ | अछाम

अविरल बर्षासँगै अछामको रामारोसन गाउँपालिकामा गएराति आएको बाढीले बगाएर चार जनाको मृत्यु भएको छ । दर्जनौं परिवार विस्थापित भएका छन् । रामारोसन र बान्नीगढी–जयगढ गाउँपालिका जोड्ने पक्की पुलनजिकै चार जनाको शव भेटिएको स्थानीय पुष्प बिष्टले जानकारी दिनुभयो ।

बाढीले खालबजार, मुजाबगर, सैनीबजार, गजड, अल्लेडीलगायत धेरै ठाउँमा मानवीय र भौतिक क्षति भएको स्थानीयले बताएका छन । रामारोसन गाउँपालिका–५ को सैनीबजारका १८ जना व्यक्ति सम्पर्कबिहिन भएको खबर आएको प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताउनुभयो ।

घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थलतर्फ लागेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी योगेन्द्र सिंह थापाले जानकारी दिनुभयो । 

सुरक्षाकर्मीको टोली घटनास्थल पुग्न अझै समय लाग्ने भएकाले घाइतेको उद्धारका लागि हेलिकप्टर पठाइदिन प्रदेश र केन्द्र सरकारलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनुभयो ।


प्रतिक्रिया