नगर प्रहरी प्रमुखमा फर्किए हाछेथु

भाद्र १४, २०७७ | ललितपुर

ललितपुर महानगरपालिकाले ट्राफिक व्यवस्थापन गर्न सक्षम र सफल मानिएका पूर्व ट्राफिक प्रहरी निरीक्षक सिताराम हाछेथुलाई महानगरको नगर प्रहरी बल प्रमुखको रुपमा नियुक्त गरेको छ । महानगरले हाछेथुलाई दमकल व्यवस्थित गर्ने जिम्मेवारी सहित आइतबार नियुक्त गरेको हो । 

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले महानगरका नगर प्रहरीको क्षमतालाई अझै चुस्त बनाउन सितारामलाई ल्याएको बताउनुभयो । ‘उहाँको कार्य क्षमता, शैलीबाट जनता प्रभावित हुनुहुन्छ, त्यसैले ल्याएका हौं,’ उहाँले भन्नुभयो, ‘नमूना नगर प्रहरी बनाउन हाछेथुको भूमिका महत्वपूर्ण हुनेछ ।’ 

उहाँले महानगरले तयार पारेको महानगरस्तरीय ट्राफिक व्यवस्थापन सम्बन्धित योजना कार्यान्वयन गर्न विज्ञका रुपमा सितारामले भूमिका खेल्ने बताउनुभयो । हाछेथुले महानगरको नीति र निर्देशन अनुसार ललितपुर महानगरलाई व्यवस्थित सहर बनाउन काम गर्ने बताउनुभयो ।

‘ललितपुरका महानगर प्रमुख चिरीबाबु महर्जनले विश्वास गरेर यो जिम्मेवारी दिनु भएको छ, यो जिम्मेवारी पूरा गर्छु,’ हाछेथुले भन्नुभयो, ‘ललितपुर महानगरलाई नमूना नगर बनाउने प्रतिबद्धता व्यक्त गर्दछु ।’ उहाँले टा्रफिक व्यवस्थापन, सरसफाई र फुटपाथ व्यवस्थापनलाई प्राथमिकता राखेर काम गर्ने बताउनुभयो ।

२०७५ मंसिर महिनामा ट्राफिक प्रहरीको सेवाबाट निवृत्त भएका सितारामले राष्ट्र प्रमुख, सरकार प्रमुख, नेपालका विभिन्न मन्त्रालय, राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थाबाट गरी एक सय २९ वटा पुरस्कार पाइसककेका छन् । 

सितारामले कालिमाटी, कोटेश्वर, गौशाला, भक्तपुर, ललितपुरमा ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी पूरा गरेका थिए । २९ वर्ष यो क्षेत्रका बिताएका सितारामलाई स्थानीय जनतासँग मिलेर काम सक्ने क्षमता भएका व्यक्तिको रुपमा लिइन्छ । 


प्रतिक्रिया