कर्मचारी नियुक्तिमा प्रधानाध्यापकको मनोमानी

भाद्र १६, २०७७ | भोजपुर

भोजपुरको रामप्रसाद राई गाउँपालिका–५, मानेभञ्ज्याङस्थित बेहेरेश्वर माध्यमिक विद्यालयमा कर्मचारी नियुक्त गर्दा प्रधानाध्यापकले मनोमानी गरेका छन् । लेखापाल दरबन्दीको कर्मचारी नियुक्तिमा प्रधानाध्यापक खगेश्वर पौडलले मनोमानी गरेको खुलेको हो । 

भदौ १३ गते लिईएको परीक्षामा प्रधानाध्यापक पौडेलले आफ्ना निकट परिक्षार्थीलाई व्यक्तिगत ढंगबाट लेखापालमा नियुक्ति गरिएको भन्दै परिक्षार्थी र सरोकारवालाबाट विरोध गरेका छन् । पुरानै पाठ्यक्रम अनुरुप नै परीक्षाको तयारी गरेपनि प्रधानाध्यापक पौडेलले आफ्नो अनुकूल एनआईसी एशिया बैंक बैकुण्ठे शाखाका कर्मचारीलाई रोष्टर राखेर पाठ्यक्रम बाहिरको प्रश्नावली बनाएको एक परिक्षार्थी स्मृति कार्कीले गुनासो गरिन् । 

छोटो समयमा नयाँ पाठ्यक्रम समेटिएको सो परीक्षामा प्रधानाध्यापकले नियुक्त गरेको रोष्टरले प्रश्नपत्रको ३४ प्रतिशत प्रश्न पाठ्यक्रम बाहिरबाट समेटेर बनाएको उनले गुनासो पोखिन् । सो प्रश्नापत्र पनि अंग्रेजी माध्यमबाट बनाईएको परिक्षार्थीको गुनासो छ ।

परीक्षा सञ्चालन गराउन प्रधानाध्यापक पौडेलले रोष्टरमा विद्यालयकै शिक्षक टंक प्रसाद घिमिरेलाई प्रस्तावित गरेका थिए । तर, परीक्षाको मिति नजिकिने बेला प्रधानाध्यापक पौडेलले आफ्नो निकट रविना बस्नेतलाई कर्मचारी नियुक्ति गराउन आग्रह गरेका थिए । 

घिमिरेले परीक्षा प्रणाली मर्यादित गर्नुपर्छ भनेपछि प्रधानाध्यापक पौडेलले आफ्नो अनुकूल बैंकका कर्मचारीलाई तत्काल रोष्टर बनाएका थिए । ६ जना सहभागी परीक्षालाई वैधानिकता र मर्यादित बनाउने किसिमको परीक्षा प्रणाली नभएको उनले बताए । 

घिमिरेका अनुसार निकट रहेका व्यक्तिलाई नै नियुक्ति गर्ने टुंगो नभएपछि एउटै विद्यालयको शिक्षकलाई रोष्टर राख्दा विवाद हुन्छ भनी भन्न लगाई घिमिरेको ठाउँमा बंैकका कर्मचारीलाई रोष्टर बनाईएको थियो ।

यता, प्रधानाध्यापक पौडेलले कर्मचारी नियुक्तिको सबै परीक्षा प्रणाली पारदर्शी भएको बताएका छन् । गाउँपालिकाका शिक्षा शाखा प्रमुख श्रीप्रसाद ढकाल, शिक्षा समन्वय इकाई भोजपुरका प्रतिनिधि, गाउँपालिकाका कर्मचारीको प्रत्यक्ष निरीक्षणमा परीक्षा सञ्चालन गरिएको उनले बताए । प्रधानाध्यापक पौडेलका अनुसार रोष्टरमा नियुक्ति गरिएका ती बैंकका कर्मचारीलाई कोडिङ गरेरै परीक्षा गराउन पठाएको बताए । 

विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार नै गत २०७६ पुष १८ गते पाठ्यक्रम सहित कर्मचारी नियुक्तिको विज्ञापन खुलाईएको थियो । परीक्षाबाट उतीर्ण गराईएका बस्नेतलाई प्रधानाध्यापक पौडेलले विद्यालय व्यवस्थापन समितिको बैठक नै नबसी नियुक्ति दिएको खुलेको छ ।


प्रतिक्रिया