प्रदेश २ मा सशस्त्रले थप ७३ वटा बिओपी स्थापना गर्ने

भाद्र १९, २०७७ | पर्सा

नेपाल भारत सीमामा हुने अवैध गतिविधी नियन्त्रणका लागि सशस्त्र प्रहरीले प्रदेश २ मा थप ७३ वटा बोर्डर आउट रिच पोस्ट (बिओपी) स्थापना गर्ने भएको छ । सशस्त्र प्रहरी बल प्रदेश २ का प्रमुख सशस्त्र प्रहरी नाउव महानिरीक्षक (डिआइजी) कृष्णभक्त ब्रम्हचार्यले प्रमुख नाका वीरगञ्जको इनर्वामा स्थापना भएको बिओपीको आज उद्घाटन गर्दै सो संख्या थपिने बताउनुभयो । 

सबै किसिमका अवैध क्रियाकलाप नियन्त्रणका लागि बिओपी थप्दै जाने योजना अनुसार पहिलो चरणमा १२ वटा, दोस्रोमा २४ र तेस्रो चरणमा ३७ वटा बिओपी स्थापना गरिने उहाँको भनाई थियो । प्रदेश २ मा हालसम्म ५० वटा बिओपी रहेका छन् । उहाँका अनुसार सीमामा हुने तस्करी, लागू औषध कारोबार, हातहतियार ओसारपसार र अन्तरदेशीय अपराध नियन्त्रणका लागि थप बिओपी स्थापना गर्न लागिएको हो । 

कोरोना सुरु भएदेखि सशस्त्र प्रहरीले नाकाहरुमा ५९ वटा ‘फरवार्ड अपरेटिङ बेस’ (एफओपी) समेत स्थापना गरेको छ । अवैध रुपमा भारतबाट भित्रिने व्यक्तिलाई रोक्ने र क्वारेन्टाइनमा पठाउने काम एफओपीले गर्दै आएको छ । 


प्रतिक्रिया