भोजपुरमा समुदायस्तरमै फैलियो कोरोना

भाद्र २५, २०७७ | भोजपुर

भोजपुरमा समुदायस्तरमै कोरोना भाइरसको संक्रमण फैलिएको छ । पछिल्लो समय प्रहरीको हिरासतमा रहेका थुनुवा र बैंकका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि संक्रमण समुदायस्तरमै फैलिएको प्रशासनले जनाएको छ । 

राष्ट्रिय वाणिज्य बैंक शाखाका कर्मचारी, हिरासतमा रहेका थुनुवा र होल्डिङ क्षेत्रमा रहेका एक जना गरी ३ जनामा कोरोना देखिएको हो । जसमध्ये भोजपुर नगरपालिका–१२ का २८ वर्षीय, षडानन्द नगरपालिका–६ का २२ वर्षीय र टेम्केमैयुङ गाउँपालिका–२ का २१ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको थियो । 

यात्रा विवरण नभएका व्यक्तिहरुमा संक्रमण देखिएपछि संक्रमण समुदायमा फैलिएको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुईटेलले जानकारी दिनुभयो । जिल्लामा थप संक्रमण फैलिन नदिन प्रशासनले बिहीबारबाट भदौं ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । 

यसअघि जिल्लामा भादौ २४ गते ५ जनामा कोरोना संक्रमण देखिएको थियो । षडानन्द नगरपालिकाको वडा नं ४ का १५ र ४१ वर्षीय २ पुरुष र ४२ वर्षीया महिला, वडा नं ६ का ४४ वर्षीय पुरुष र वडा नं ८ का २० वर्षीया महिला गरी ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । 

योसँगै भोजपुरमा कोरोना संक्रमितको संख्या २० पुगेको छ । जसमध्ये ६ जना संक्रमण मुक्त भईसकेका छन् । त्यसैगरी षडानन्द नगरपालिका एक हप्ताको लागि सिल गरिएको छ ।


प्रतिक्रिया