साताभित्र प्रहरी समायोजन नटुंग्याए अदालत जाने प्रदेश २ को चेतावनी

आश्विन ९, २०७७ | जनकपुर

एक साताभित्र प्रहरी समायोजनको काम नटुंग्याए प्रदेश २ सरकारले संघीय सरकारविरुद्ध मुद्दा हाल्ने चेतावनी दिएको छ । लामो समयदेखि अल्झिएको प्रहरी समायोजनको काम एक साताभित्र टुंग्याउन प्रदेश सरकारले गृह मन्त्रालयलाई ध्यानाकर्षण पत्र लेखेको छ । 

प्रहरीको खटनपटन, कार्यसम्पादन, समन्वय र सुपरिवेक्षणको जिम्मेवारी प्रदेश सरकारलाई तोकिएको प्रहरी समायोजनको काम अझै नटुंगिएको प्रदेश २ सरकार रुष्ट बनेको छ । समायोजन ऐन अनुसार प्रदेशमा खटिएका प्रहरीको कार्य सम्पादन र खटनपटन गर्ने जिम्मेवारी प्रदेश सरकारलाई सुम्पेको छ । 

प्रदेश सरकारले गृह मन्त्रालयलाई लेखेको पत्रमा एक साताभित्र प्रहरी समायोजन प्रकृया टुंग्याउन आग्रह गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले कान्तिपुरसंग भन्नुभयो – चैत महिनामै प्रहरी समायोजन टुंग्याउनु पथ्र्यो तर, कोरोना लगायतको वाहना बनाउँदै समायोजन प्रकृया अनावश्यक लम्ब्याइएको छ, एक साताभित्र प्रहरी समायोजन प्रकृया पुरा नगरे हामी संवैधानिक अदालतमा मुद्दा हाल्छौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ माघ महिनामै प्रहरी समायोजन विधेयक प्रमाणीकरण गरिसकेको छ । यति लामो समय बित्दा पनि विधेयक कार्यान्वयन नगर्दा प्रदेश सरकारलाई काम गर्न समस्या भइरहेको मुख्यमन्त्री राउतले बताउनुभयो । प्रदेश २ सरकारले प्रदेश प्रहरी विधेयक अन्य प्रदेश भन्दा पहिला पारित गरेपनि प्रहरी समायोजन ऐनलाई कुर्दै प्रहरी भर्ना थालेको छैन । 


प्रतिक्रिया