चितवन मेडिकल कलेजमा थप दुई संक्रमितको मृत्यु

कार्तिक १०, २०७७ | चितवन

भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचाररत थप दुई जना कोरोना संक्रमितको सोमबार मृत्यु भएको भएको छ । योसँगै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ । 

चितवन मेडिकल कलेजका निर्देशक प्रा.डा. दयाराम लम्सालका अनुसार भरतपुर महानगरपालिका–१० की ६७ वर्षीया महिलाको सोमबार दिउँसो पौने दुई बजे मृत्यु भएको हो । 

श्वासप्रश्वास र उच्च ज्वरोको समस्या देखिएपछि उनी कात्तिक ५ गते अस्पताल भर्ना भएकी थिईन् । कात्तिक ६ गते उनमा संक्रमण पुष्टि भएपछि आईसीयूमा भेन्टिलेटरमा राखेर उपचार गरेको थियो । उनी मिर्गौलाका दीर्घ रोगी थिए ।

यस्तै, भरतपुर महानगरपालिकाका–१ का ७७ वर्षीय वृद्धको आइतबार मध्यरातपछि मृत्यु भएको अस्प्तालले जनाएको छ । कात्तिक २ गते संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बस्दै आएका थिए । 

स्वास्थ्यमा थप समस्या भएपछि कात्तिक ८ गते अस्पताल भर्ना भएका उनको आईसीयूमा भेन्टिलेटरमा राखेर उपचार भईरहेको थियो । दुर्बै जनाको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

चितवन स्वास्थ्य कार्यालयले दिएको विवरण अनुसार चितवनमा सोमबार दिउँसोसम्म कुल संक्रमितको संख्या तीन हजार ९४७ पुगेको छ । ती मध्ये दुई हजार १४४ जना संक्रमण मुक्त भएका छन् । जिल्लामा सक्रिय संक्रमितको संख्या एक हजार ७५२ रहेको छ । 

एक हजार ३४५ जना होम आइसोलेसनमा रहेको चितवन स्वास्थ्य कार्यालयले जनाएको छ । पछिल्लो समय चितवनमा कोरोना भाइरसको संक्रमण तीब्र हुँदै गएको छ । संक्रमितको संख्या पनि चार हजार नजिक पुगेको छ ।


प्रतिक्रिया