नेकपाको केन्द्रीय कमिटी बैठक स्थगित

कार्तिक १२, २०७७ | काठमाडौं

सत्तारुढ नेकपाले कात्तिक १५ देखी १७ सम्मका लागि बोलाएको केन्द्रीय कमिटी बैठक अन्तिम समयमा स्थगित भएको छ । कात्तिक १५ गतेका लागि तय भएको बैठक मंसिर १५ गतेसम्मका लागि स्थगित भएको हो । नेकपा केन्द्रीय कार्यालयका सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजालले आज विज्ञप्ति जारी गर्दै कात्तिक १५ देखि १७ सम्मका लागि तय भएको बैठक एक महिनापछि सरेको जनाएका हुन् । बैठकको अर्को मिति मंसीर १५ देखि १७ गते तय गरिएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको २०७७ कात्तिक १५ गतेदेखि आयोजना गरिएको तेश्रो पूर्ण बैठक कोभिड–१९ महामारीका कारण स्थगित गरिएको छ । सो बैठक आगामी मंसिर १५ देखि १७ मा आयोजना हुने जानकारी गराइन्छ ।’

महाधिवेशनको तयारीका लागि कात्तिक १५ गतेदेखि बस्ने भनिएको बैठक कोरोना भाइरसको संक्रमण र अन्य तयारी पूरा नभएकाले सरेको हो । नेकपा सचिवालय सदस्यहरूसंगको परामर्शपछि बैठकको नयाँ मिति तय गरिएको हो । स्थायी कमिटी बैठकले सांगठनिक एकता र महाधिवेशनको तयारी सम्बन्धि गर्ने कामको सूची र समय तालिका तयार पारेको थियो । त्यस्तै कार्यकर्ताको लगत तयार पार्ने पनि स्थायी कमिटी निर्णयमा भनिएको थियो । तर यी सबै काम हुन नसक्दा केन्द्रीय कमिटीको बैठक प्रभावित भएको नेताहरुको दाबी छ । 


प्रतिक्रिया