कोरोनाले ब्रतालुको सोच बदलियो

मंसिर ६, २०७७ | विराटनगर

नदी, खोला एवं नहर किनारमा ठाउँ अभाव हुन थालेपछि केही ब्रतालु परिवारले घरबाटै सूर्य उपासनाको पर्व मनाउँदै आइरहेका छन् । तर कोरोना कहरले यसपालि धैरेले घर र वरपरको खाली ठाउँमा कृत्रिम पोखरी खनेर अर्घ्य दिंदै छठ विधि पूरा गरे । विराटनगर तीनटोलियाका युवा पवन गुप्ताले पूजालाई परिवारजनमै सीमित राखेर यस पटक छतमा सानो पोखरी बनाएर पर्व मनाएको बताउनुभयो । 

वर्षेनी ब्रतालुको बढ्दो भीडले सिंघिया खोला किनारमा पूजा गर्न समेत कठिन हुने गरी ठाउँ साँघुरो हुन थालेपछि गुप्ता परिवारले तीन वर्षदेखि घरको बारीमा पोखरी बनाएर छठ गरिरहेका थिए । परिवारजनका अनुसार घाटमा भीडले व्रतालुलाई लुगा फेर्न समेत कठिन हुन्छ । लुगा फेर्नलाई टेन्टले घेरेर बनाइको ठाउँमा उच्छृंखल जमातले पटका पडकाउने हुनाले ब्रतालुलाई असहज हुने गरेको गुप्ता परिवारको भनाई छ । 

आँगनमा पानी भरिएको आरी र ड्रमबाट, बारी, छत घर छेउको खाली जग्गामा कृत्रिम जलासय बनाई पूजा गरेका दृश्यहरु ब्रतालु परिवारजनले सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । विराटनगरकी व्रतालु अमृता गौतमले सामाजिक सञ्जाल फेसबुकमा साँघुरिंदै गएको खोला किनार र बढ्दो प्रदूषणले घरमै छठ मान्नु सुरक्षित भएको उल्लेख गर्नु भएको छ ।

 प्रदूषित खोलानाला, लाउड स्पिकरको चर्को स्वर, जथाभावी पड्काइने पटका र बाटो काट्न समेत कठिन हुने ब्रतालु एवं आगन्तुकको घुईंचो बीच असुरक्षित ढंगले पूजा गर्नु अविवेकशील सोच भएको कतिपयको बुझाई छ । छठ पर्व मनाउने चलनको सोचमा परिवर्तन आवश्यक भएको र कोरोनालेसम्भव गराएको ब्रतालु तथा परिवारजनको भनाई छ । 


प्रतिक्रिया