आठ महिनापछि खुल्यो गोरखा सङ्ग्रहालय

मंसिर ७, २०७७ | गोरखा

कोरोना भाइरसको महामारीका कारण बन्द भएको गोरखा सङ्ग्रहालय आठ महिनापछि आइतबारबाट सञ्चालनमा आएको छ । आइतबारबाट गोरखा सङ्ग्रहालयको प्रदर्शनी कक्ष सर्वसाधारणका लागि खुल्ला गरिएको सङ्ग्रहालयका प्रमुख नवराज अधिकारीले बताउनुभयो । 

कोरोना भाइरसको सम्भावित जोखिम न्यूनिकरणका लागि भन्दै गत चैत ६ गतेबाट सर्वसाधारणलाई सङ्ग्रहालय प्रवेशमा रोक लगाइएको थियो । सङ्ग्रहालय खुला भएसँगै आइतबार एक सय ५० जना आगन्तुकले प्रदर्शनी कक्षको अवलोकन गरेका छन् । 

एक विद्यार्थी र एक सय ४९ जना सर्वसाधारण सङ्ग्रहालय अवलोकन गरेको अधिकारीले जानकारी दिनुभयो । आज एकैदिन ३७ सय ३५ रुपैया राजस्व संकलन भएको उहाँले बताउनुभयो ।संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पुरातत्व विभाग र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर सङ्ग्रहालय सर्वसाधारणका लागि खुला गरिएको हो । 

‘विभागको निर्णय अनुसार नै सङ्ग्रहालय खुला गरेका हौँ,’ उहाँले भन्नुभयो, ‘मंसिर ५ गते बाटै खोल्ने तयारीमा थियौँ, केही ब्यवस्थापनको काम सकेर आजबाट सङ्ग्रहालय खुला गरेका हौँ ।’ सङ्ग्रहालय प्रवेश गर्ने पर्यटक र कर्मचारीलाई स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा कडाइ गरिएको अधिकारीले बताउनुभयो । 

सङ्ग्रहालयको प्रवेशद्वारमा हात धुने ब्यवस्था तथा मास्क अनिवार्य गरिएको छ । सङ्ग्रहालय प्रदर्शनी कक्षमा नेपाल एकीकरणमा प्रयोग भएका हातहतियार, भाडावर्तन, जातजातिको भेषभुषा अनुसारको डमी, तैलचित्र, पुष्पिका वाक्य, धार्मिक कक्ष, बाजागाजा कक्ष रहेका छन् । द्रब्य शाहदेखि पृथ्वीनारायण शाहसम्मको तत्कालीन राजाहरुको जन्मकुण्डली कक्ष पनि छ । 

यहाँ आएका धेरैजसो अवलोकनकर्ता हातहतियार ऐतिहासिक कक्षमा समय बिताउने गरेका छन् । तत्कालीन समयमा नेपाल एकीकरणमा प्रयोग भएका हतियार पनि राखिएको छ । गोरखा सङ्ग्रहालय १८९६ सालमा तत्कालीन राजा राजेन्द्र विक्रम शाहले बनाउन लगाएको इतिहासमा उल्लेख छ । 

छोरा सुरेन्द्र वीरविक्रम शाहलाई राख्नका लागि बनाएको सङ्ग्रहालय परम्परागत चौघेरा शैलीको छ । राणकालमा प्रशासनकीय अड्डाको रुपमा रहेको गोरखा सङ्ग्रहालयलाई २०४३ सालमा संरक्षित क्षेत्र घोषणा भएको थियो । २०६५ जेष्ठ १९ गतेबाट सो सङ्ग्रहालय सर्वसाधारणका लागि खुला गरिएको थियो ।


प्रतिक्रिया