नेपालले आज वेस्ट इन्डिज 'ए'सँग पाँचौ टी-२० क्रिकेट खेल्दै

वैशाख २२, २०८१ | काठमाडौं

नेपालले पाहुना टोली वेस्ट इन्डिज ‘ए’ टिमसँग आज पाँचौ तथा अन्तिम टी–२० क्रिकेट खेल्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल मध्याह्न सवा १२ बजे सुरु हुनेछ । 

वेस्ट इन्डिज ‘ए’ ले पाँच खेलको सिरिज ३–१ को अग्रतामा जितिसकेको छ । पहिलो खेल ४ विकेटले जितेको नेपालले त्यसपछिका तीन खेलमा लगातार हार व्यहोरोको थियो । 

दोस्रो खेलमा नेपाल १० रन, तेस्रो खेलमा ७६ रन र चौंथो खेलमा २८ रनले पराजित भएको थियो । सिरिज गुमाइसकेको घरेलु टोली भने आजको खेल जितेर सुखद अन्त्य गर्ने लक्ष्यमा छ । 

वेस्ट इन्डिज ‘ए’सँगको सिरिजमा कप्तान रोहित पौडेल बाहेक अन्य ब्याटरले राम्रो प्र्रदर्शन गर्न सकेका छैनन् । त्यसैले ब्याटरका लागि लयमा फर्किने यो अन्तिम अवसर पनि हो । 

वेस्ट इन्डिज ‘ए’सँग अन्तिम टी–२० खेलेपछि नेपाली राष्ट्रिय टोली विश्वकपका लागि अमेरिका प्रस्थान गर्नेछ । विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीलाई नेपाल क्रिकेट संघ क्यानले बिदाई गरिसकेको छ । 

अमेरिका र वेस्ट इन्डिजमा आगामी जुनमा आयोजना हुने टी–२० विश्वकपका लागि एक समूहमा भोलि बिहान साढे २ बजे र अर्को समूह भोलि दिउँसो गरी दुई चरणमा फ्लोरिडा जानेछ ।

रोहित पौडेलको कप्तानीमा रहेको १५ सदस्यीय टोलीमा आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् । 

जुन १ देखि २९ सम्म आयोजना हुने विश्वकपका लागि नेपाल रहेको समूह ’डी’ मा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका, नेदरल्यान्ड्स रहेका छन् । 

नेपालले अमेरिकामा जुन ४ मा डालासमा नेदरल्यान्ड्ससँग र जुन ११ मा फ्लोरिडामा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । जुन १४ र १६ मा वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा हुने खेलमा नेपालले क्रमशः बंगलादेश र दक्षिण अफ्रिकासँग समूह चरणको खेल खेल्नेछ ।


प्रतिक्रिया