मापदण्ड विपरित अस्पताल सञ्चालन

मंसिर १९, २०७७ | वीरगन्ज

वीरगन्ज महानगरपालिका १६ रजतजयन्ती चोकमा रहेको नेपाल इन्डो एण्ड आई हस्पिटल मापदण्ड विपरित सञ्चालनमा रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय पर्साको नेतृत्वमा आज अनुगमन टोली पुग्दा सो अस्पतालको फार्मेसी सम्बन्धित विषय अध्ययन नै नगरेका व्यक्तिले सञ्चालन गरेको, बिलिङ काउन्टरमा दुई किसिमको बिल जारी गरिएको, नेपाल मेडिकल काउन्सिल उत्तीर्ण नगरेका स्वास्थ्यकर्मी अस्पतालको आईसियु कक्षमा विरामीको उपचार गरि रहेको पाइएको थियो । 

संयुक्त अनुगमन टोलीमा रहेका जनस्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य अधिकृत जयमोद ठाकुरले स्वास्थ्य मापदण्ड विपरित अस्पताल सञ्चालनमा रहेको पाइएको बताउनुभयो । आइसियु र अन्य वार्डमा विरामी रहेकाले हालका लागि फार्मेसी बन्द नगरिएको उहाँको भनाई छ । सहायक प्रमुख जिल्ला अधिकारी भिकान्त पौडेलले स्वास्थ्य मापदण्ड पालना नगरि अस्पताल सञ्चालन भएको उजुरीको आधारमा अनुगमन गरिएको बताउनुभयो । समितिले अस्पतालको आवश्यक कागजात, बिलबिजक, रजिष्टर लगायतका सामान नियन्त्रणमा लिएको छ । 


प्रतिक्रिया