प्रहरी चौकी स्थापनाका लागि निवेदनको चाङ

पुस ३, २०७७ | विराटनगर

प्रदेश १ मा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै प्रहरी चौकी स्थापनाको माग बढेको छ । विशेष गरी सीमा क्षेत्रमा प्रहरी चौकी स्थापनाका लागि बढी निवेदन आएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ । सुरक्षा संवेदनशीलता र आवश्यक्ताका आधारमा दुई वर्षको अवधिमा थप एक सय ८ प्रहरी चौकी स्थापना गरेको प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कविन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । 

प्रक्रिया पुर्‍याएर विभिन्न जिल्लाबाट चौकी स्थापनाका लागि थप ५३ निवेदन परेको कार्कीले बताउनुभयो । धनकुटामा ११, सुनसरीमा ८, झापा र खोटांगमा ५/५, उदयपुरमा ७, भोजपुर, तेह्रथुम र संखुवामा ४/४, इलाम र पाँचथरमा २/२ र ताप्लेजुङमा १ वटा प्रहरी चौकी माग गरिएको प्रदेश प्रहरीले जनाएको छ । 

ओखलढुंगा, सोलुखुम्बु र मोरङमा प्रहरी चौकी मागको संबोधन भइसकेको डीएसपी कार्कीको भनाई छ । आवश्यक्ता अनुसार प्रहरी दरवन्दी नभएकाले हाललाई अस्थायी प्रहरी चौकी स्थापना गरी दरबन्दी भएका कार्यालयबाट दुई/चार जना प्रहरी खटाएर काम गरिरहेको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ । 


प्रतिक्रिया