पाटन संग्रहालयको प्रर्दशन कक्ष साढे ५ वर्षपछि खुल्दै

पुस ९, २०७७ | ललितपुर

गोरखा भूकम्पपछि बन्द रहेको ललितपुरको पाटन संग्रहालयको प्रर्दशन कक्ष साढे ५ वर्षपछि शुक्रबारबाट खुल्ने भएको छ । २०७२ बैशाख १२ को भूकम्प गएको दुई महिनापछि संग्रहालय खुलेपनि गोल्डेन ढोकाको माथिल्लो तलामा रहेको दरवारको यो कक्ष भने बन्द थियो । 

पाटन दरवार क्षेत्र केशव नारायण चोकको पश्चिम मोहडामा रहेको कक्षमा संग्रहालयको संकलनमा रहेका एक सय वर्ष पुराना ३० वटा तस्बिरहरु प्रर्दशनीमा राख्ने तयारी पूरा भएको संग्रहालयले जनाएको छ । यो कक्षमा सर्वसाधारणले पनि संग्रहालयसँग भाडामा लिएर आफ्ना संकलनमा रहेका तस्बिर तथा मूर्तिहरु प्रर्दशनमा राख्न सकिन्छ । 

पाटन संग्रहालयका अधिकृत सुरेश लाखेका अनुसार पुरात्तात्विक महत्वको तस्बिर आगामी माघ १८ सम्म प्रर्दशनीमा राखिनेछ । ‘दोस्रो चरणमा काष्ठकला, धातुकला, प्रस्थरकलाका उमामेश्वर, विष्णु, विश्वेश्वर जस्ता देवीदेवताका मूर्तिहरु प्रर्दशनीमा राख्ने योजनामा छौ,’ उहाँले भन्नुभयो, ‘प्रर्दशनीले संग्रहालय अवलोकनमा आउने पर्यटकहरुले फरक चिजको अनुभव पाउन सकिन्छ ।’ 

प्रर्दशनीमा राखिने तस्बिरहरुमा भीमफेदीबाट उपत्यकामा गाडी बोकेर ल्याइरहेको, पाटन दरवार, हनुमान ढोका दरवार, कालभैरव, धरहरा, बाघदरवार, बौद्ध स्तूपा र वल्डफिल्डले सन् १८५३ मा बनाएको पाटन दरवार क्षेत्र भण्डारखाल बगैँचाको स्केच लगायत छन् । 

पर्यटकले १७ औं शताब्दीका राजा सिद्धिनरसिंह मल्लका पालामा बनेको सुन्दरी चोक, हात्तीको दन्तबाट बनेको ऐतिहासिक झ्याल, माटोको भित्तामा बनाइएको पाटन शहरको चित्र, काठका ५ सय वटा शिव लिंग, ढुंगाका ७२ वटा छुट्टाछुट्टै शिवको मूर्ति, मूलचोक, काठमाडौंदेखि गोसाइँकुण्ड रुटको पौवाचित्र लगायत अवलोकन गर्न सकिन्छ ।


प्रतिक्रिया