पूर्वी नवलपरासीमा ५ नयाँ प्रजातिका चरा फेला

माघ ४, २०७७ | नवलपरासी

पूर्वी नवलपरासीमा यो वर्ष ५ प्रजातिका नयाँ चरा देखापरेको छ । चितवन राष्ट्रिय निकुञ्ज आसपासको मध्यवधि क्षेत्रमा गरिएको चरा गणनामा यस वर्ष कैलो टाउके हाँस, पानी चाह, लालठुडे हाँस, चित्राङगद र माल चरी गरी ५ प्रजातिका नयाँ चरा देखापरेको हो । यी चरा गत वर्षको चरा गणनामा भेटिएको थिएन । 

चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पन्क्षी गणना संयोजक तथा चरा विज्ञ डीबी चौधरीका अनुसार यस वर्ष जिल्लामा ४६ प्रजातिका चरा देखापरेका छन् । यस्तै, यसवर्ष जलेवा चराको संख्यामा वृद्धि भएको चरा विज्ञ चौधरीले जानकारी दिनुभयो । 

यो वर्ष जलेवा चरा २ हजार ८ सय १७ वटा भेटिएका छ । गतवर्ष यी चरा २ हजार ६ सय ८९ वटा भेटिएको थियो । त्यस्तै, यस वर्ष संख्या वृद्धि हुने चरामा पानी गौंथली र नेपाली हरिहाँस छन् । पानी गौंथली गत वर्षको तुलनामा यसवर्ष एक हजार ६ सय १४ र नेपाली हरिहाँस ८७ वटाको संख्यामा वृद्धि भएको चरा विज्ञ चौधरीले बताउनुभयो । 

यसवर्ष चखेवाको संख्यामा भने कमी भएको छ । यसवर्ष ५ हजार ५ सय ७६ संख्यामा भेटिएको चखेवा गत वर्षको गणनामा ६ हजार ३ सय १२ वटा देखापरेको थियो । चरा गणनाको लागि गैंडाकोट सिख्रौलीदेखि त्रिवेणीसम्मका क्षेत्रलाई ३ भागमा बाँडेर गणना गरिएको हो । 

चरा गणकहरुको समूहले जलपन्क्षीहरुलाई टेलिस्कोप र वाइनाकुलरको सहायताले गणना गर्छन । चितवन राष्ट्रिय निकुञ्ज, जटायु रेष्टुरेण्ट व्यवस्थापन समिति, सीबीएपीयू, अप्याक्क लामिचौर मध्यावधि उपभोक्ता समिति लगायत संरक्षणकर्मी र सरोकारवालाको उपस्थितिमा चरा गणना गरिएको हो । 

जलपन्क्षीको संख्या, बासस्थानको अवस्था, बासस्थानमा समस्या, चराको गतिविधि बुझ्न र संरक्षणको लागि के गर्न सकिन्छ भन्ने विषयमा निष्कर्ष निकाल्नका लागि नेपालमा हरेक वर्ष गणना हुँदै आएको छ । यस पटक पूर्वी नवलपरासी क्षेत्रमा २८ जनाको टोलीले चरा गणना गरेको हो । 

डुंगामा चढेर टेलिस्कोप, वाइनाकुलर र क्यामेराको सहयोगले चरा गणना गरिन्छ । नेपालमा कुल ८ सय ८८ प्रजातिको चरा पाइएको छ । ती मध्ये चितवन र आसपासमा ५ सय ७८ प्रजातिको चरा भेटिएको छ । चितवनमा १ सय ११ प्रजातिका पानीमा आश्रित चरा भेटिन्छ ।


प्रतिक्रिया