भक्तपुरमा ‘श्वासप्रश्वास पुनर्स्थापना केन्द्र' सञ्चालन गरिने

माघ ७, २०७७ | भक्तपुर

भक्तपुरमा श्वासप्रश्वास पुनर्स्थापना केन्द्र सञ्चालन गरिने भएको छ ।  भक्तपुर नगरपालिकाको आठौं नगरसभाले ‘श्वासप्रश्वास पुनर्स्थापना केन्द्र सञ्चालन नियमावली–२०७७’ पारित गरेको छ । 

श्वासप्रश्वास पुनर्स्थापना केन्द्रले दीर्घ दमखोकी भएका व्यक्तिहरुको रोगको निदान गर्ने र श्वासप्रश्वास पुनर्स्थापन सेवा प्रदान गर्ने, दीर्घ दमखोकी भएका व्यक्तिहरुको प्रारम्भिक निदान, उपचार र पुनस्र्थापनका लागि सेवा प्रदायकहरुको क्षमता अभिवृद्धि गर्ने र राष्ट्रिय, प्रादेशिक र स्थानीय स्तरमा उत्कृष्ट केन्द्रको रुपमा श्वासप्रश्वास पुनस्र्थापन सम्बन्धी विशेषज्ञता र संशाधनहरु प्रदान गर्ने लगायत उद्देश्य नियमावलीमा उल्लेख छ ।

जापानी चिकित्सको सहकार्यमा नगरपालिकाले निर्माणाधिन ख्वप अस्पताल निर्माण स्थलको उत्तरतर्फ छाती पुनस्र्थापना केन्द्र सञ्चालनको तयारी थालेको छ । दम तथा स्वाशप्रस्वास सम्बन्धी समस्या भएकाहरुका लागि श्वासप्रश्वास पुनस्र्थापना केन्द्र स्थापना गर्न लागेको नगरपालिकाले जनाएको छ । 

कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण श्वासप्रश्वास पुनर्स्थापना केन्द्र सञ्चालनमा ढिलाई भएको नगर प्रमुख सुनिल प्रजापतिले बताउनुभयो । दुई वर्षयता नगरपालिकाले १० वटै वडामा घर/घरमा नर्सिङ सेवा सञ्चालन गर्दै आएको छ । 

नगरसभामा विधायन समितिका संयोजक हरिराम सुवालले भक्तपुर नगरपालिका आदर निकेतन सेवा सम्बन्धी विधेयक २०७७ र शिशु स्याहार तथा बालविकास केन्द्र सञ्चालन कार्यविधि २०७७ छलफलको लागि प्रस्तुत गरेका छन् । 


प्रतिक्रिया