फुल्चोकी घुम्न गएका दुई जनाको उद्धार

माघ २६, २०७७ | ललितपुर

ललितपुरको फुल्चोकीमा हिउँ खेल्न जाने क्रममा हराएका दुई जनाको प्रहरीले उद्धार गरेको छ ।

 महानगरीय प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको टोलीले गोदावरी नगरपालिका–२ चापाखर्कबाट सिन्धूलीका २१ बर्षीय प्रशान्त थापा र दोलखाका १९ बर्षीय सुरेश केसीको उद्धार गरेको हो । प्रहरीले फुल्चोकी घुम्न जानेलाई प्रत्येक बर्ष झै यस वर्ष पनि कडाइ गरेको छ । 

फुल्चोकी प्रवेश गर्ने मुख्य नाकामा हिजोबाट प्रहरीले सुरक्षाजाँचमा कडाई गर्दै नाम, ठेगाना, सम्पर्क नम्बरको तथ्यांक राख्ने तथा नक्सा र सचेतनामुलक बोर्ड राखेर भौगोलिक अवस्थाबारेमा जानकारी दिने व्यवस्था मिलाएको छ ।

महानगरीय प्रहरी परिसर जावलाखेलका एसपी प्रज्जवल महर्जनले पैदल जाने पर्यटकलाई दिउँसो एक बजे र सवारी साधनमा जानेलाई २ बजेसम्म मात्र प्रवेश गर्न दिने व्यवस्था मिलाएको जानकारी दिनुभयो । प्रहरीले दैनिक पाँच सय जनासम्म मात्र पठाउने गरेको छ ।

फुल्चोकीमा जाडोयाममा हिउँ खेल्ने जानेको घुइँचो लाग्ने र बाटो बिराएर धेरै मानिसहरु हराउन गई मृत्यु समेत हुने गरेको तथ्यांक छ ।


प्रतिक्रिया