वन्यजन्तुको निगरानी गर्न रौतहटका जंगलमा क्यामेरा जडान

रौतहटको राष्ट्रिय वनमा वन्यजन्तुको संख्या बढेपछि ट्रापिङको लागि क्यामेरा जडान गरिएको जंगल क्षेत्र । तस्बिर : शिव पुरी/रेडियो कान्तिपुर ।  

फाल्गुन २, २०७७ | रौतहट

वन्यजन्तुको संरक्षण र निगरानीका लागि डिभिजन वन कार्यालयले रौतहटका राष्ट्रिय वन क्षेत्रमा ट्रयापिङ क्यामेरा जडान गरेको छ । क्यामेरा जडानपछि वन्यजन्तुको गतिविधिका साथै चोरी शिकारीको निगरानीमा समेत मद्दत पुग्ने डिभिजन वन कार्यालयले जनाएको छ । 

वन्यजन्तु अपराध नियन्त्रण इकाई समितिका संयोजक एवं डिभिजन वन कार्यालयका प्रमुख विनोद सिंहले पछिल्लो समय बाघ, भालु, चितुवा, हरिण, बदेल, निलगाई, सालक जस्ता वन्यजन्तुको संख्या बढेको जानकारी दिनुभयो । प्रमुख सिंहले जिल्लाको विभिन्न स्थानको राष्ट्रिय वन भित्र वन्यजन्तुको गतिविधि पत्ता लगाउन क्यामेरा जडान गरिएको र क्यामेरामा वन्यजन्तुहरु कैद भएको बताउनुभयो । 

वन कार्यालयले वन्यजन्तु ओहोर दोहोर गर्ने र बासस्थान क्षेत्रमा १७ थान क्यामेरा जडान गरेको छ । यसका लागि एक महिनादेखि वनका प्राविधिकहरु जंगल भित्र खटेका छन् । क्यामेरामा बाघ, हरिण, बदेल जस्ता वन्यजन्तु हिँड्डुल गरेको कैद भएको छ । जंगल भित्र हतियार बोकेको शिकारी समेत क्यामेरामा कैद भएको छ । रौतहटको वन वन्यजन्तुको बासस्थानको रुपमा विकसित हुँदै गएको पाईएको छ । पर्याप्त घोल, झाडी र सिमसारका कारण यहाँ वन्यजन्तुको संख्या बढेको हो । 

बेलाबेलामा चितवन राष्ट्रिय निकुञ्जबाट गैंडा, हात्ती, बाघ यही क्षेत्रमा आएर बस्ने गरेको छ । दुई वर्ष अघि चितवन राष्ट्रिय निकुञ्जबाट बासस्थानको खोजीमा दुई वटा एकसिंगे गैंडा रौतहटको जंगल आएको थियो । जिल्लास्थित चोचो वन सेक्टर अन्तर्गतको आँबुखोला नजिक घोलमा रमाउँदै गैंडा बस्न थाल्यो । बासस्थान राम्रो भएकाले निकुञ्जको गैंडा आएको हो । 

दुई मध्ये एकलाई शिकारीले गैंडाटारको जंगल भित्र गोली हानी घाईते बनायो । पछि उक्त घाईते गैंडा उपचारकै क्रममा मर्‍यो । केही समय यता प्रमुख बासस्थान छाडेर निकुञ्जका गैंडा तराई झर्न थालेको थियो । तराईका जंगल बासस्थान राम्रो भएकाले निकुञ्जको वन्यजन्तु तराई झरेको प्रदेश २ को वन मन्त्रालयका सचिव रामचन्द्र कँडेलले बताउनुभयो । 

तराईको चारकोशे झाडी वन्यजन्तुको बासस्थानको रुपमा परिचित छ । झाडी मासिदै गएपछि वन्यजन्तु देखिन छाडेको थियो । पछिल्लो समय गैंडा, बाघ, हात्ती, निलगाई, हरिण लगायत वन्यजन्तु तराईको जंगलमा देखिन थालेको छ । 

पर्सा राष्ट्रिय निकुञ्जदेखि पूर्वी क्षेत्र बकैया र रौतहटको चन्द्रनिगाहपुर, गैंडाटार, हिलेखोला, जुडिबेला, जंगलसैया वनक्षेत्र गैंडा लगायत वन्यजन्तको बासस्थानको लागि राम्रो भएको डिभिजन वन कार्यालयले जनाएको छ । रौतहटका जंगलमा वन्यजन्तुलाई चाहिने घाँसे मैदान, पानीको श्रोत र आहाल बस्न पर्याप्त घोल रहेछ ।


प्रतिक्रिया