कर्णाली करिडोरको १२२ किलोमिटर सडक ट्रयाक खुल्यो

फाल्गुन १३, २०७७ | मुगु

हुम्लाको सिमकोट जोड्ने बहुचर्चित कर्णाली करिडोरको १ सय २२ किलोमिटर सडकको ट्रयाक खोल्ने काम पूरा भएको छ । कालीकोटको खुलालुदेखि हुम्लाको सरिसल्ला सम्मको १ सय २३ किलोमिटर मध्ये १ सय २२ किलोमिटर सडक निर्माण कार्य पूरा भएको नेपाली सेनाले जनाएको छ । 

विसं २०७१ चैत १ गतेबाट कालीकोटको खुलालुदेखि निर्माण थालेको सेनाले ७ वर्षको अवधिमा १ सय २२ किलोमिटर सडकको ट्रयाक खोल्ने काम पूरा गरेको हो । 

सेनाले जिम्मा लिएको १ सय २३ किलोमिटर मध्ये १ सय २२ किलोमिटर सडकको ट्रयाक खोल्ने काम पूरा भएको सडक निर्माण कार्यदलका सेनानी मिलन कार्कीले बताउनुभयो । बाँकी रहेको १ किलोमिटर सडक आगामी बैशाख सम्ममा पूरा गरी असार मसान्त भित्र सरकारलाई हस्तान्तरण गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

कर्णाली करिडोरमा सेनाले ५ वटा बेलिब्रिजको निर्माण कार्य पनि सम्पन्न गरेको छ । एक बेलिब्रिज निमार्णाधिन अवस्थामा छ । कालीकोट सडकखण्डमा २, बाजुरा खण्डमा १, बाजुरा–हुम्ला सिमाना कवाडीमा १ र हुम्लाको श्रीनगर गल्फागार्डमा १ गरी ५ वटा बेलिब्रिज निर्माण सम्पन्न गरिएको सेनानी कार्कीले जानकारी दिनुभयो । 

कालीकोटको खुलालुमा बेलिब्रिज निमार्णाधिन अवस्थामा रहेको उहाँको भनाई छ । हुम्लाको सरिसल्ला– कर्णाली नदीमा भने बेलिब्रिज निर्माणको जिम्मा सडक डिभिजन कार्यालयलाई दिइएको छ । कर्णाली करिडोर निर्माण कार्यको लागि कुल २ अर्ब ८४ करोड बजेट प्रस्ताव गरिएकोमा हालसम्म १ अर्ब ४५ करोड खर्च भएको सडक निर्माण कार्यदलले जनाएको छ ।


प्रतिक्रिया