दलको नेता फेरेर भएपनि ओली सरकारको विकल्प कांग्रेसले दिनुपर्छ– पौडेल

चैत्र १३, २०७७ | विराटनगर

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रवादी सबै दललाई साथमा लिएर कांग्रेसले ओली सरकारको विकल्प दिनुपर्ने बताउनुभएको छ । मोरङमा आज आयोजित पूर्वसभापति अशोक कोइरालाको श्रद्धाञ्जली कार्यक्रममा नेता पौडेलले  केपी शर्मा ओली नेतृत्व सरकारको विकल्प दिन कांग्रेस तयार रहनुपर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, 'ओली सरकारको विकल्प दिन सभापति जी पक्कै डराउनु भएको छ । म आफु पनि संसदमा छैन । पौडेलले भने त्यसैले संसदमा रहेका साथीहरुले संसदीय दलको नेताको विकल्प खोजेर ओली सरकारको विकल्प दिन गृहकार्य सुरु गर्नुस् ।'

 कार्यक्रममा नेता पौडेलले मञ्चमा रहेका महामन्त्री सशांक कोइरालाको नाम नै किटान गरेर ओली सरकारको विकल्प दिन पार्टी सभापति देउवा डराउनु भएको हो भने संसदीय दलको नेताको विकल्प खोजेर सरकारको विकल्प दिन अग्रसर हुन आग्रह गर्नुभएको हो ।

केही दिन पहिला सभापति देउवाले विराटनगर विमान स्थलमा सञ्चारकर्मीसँग कांग्रेसले ओली सरकार विरुद्ध अविश्वासको प्रस्तावपनि न ल्याउने र सरकारको विकल्प पनि नदिने भन्दै प्रतिपक्षमै वस्ने अभिव्यक्ति दिनुभएको थियो । 'ओली सरकारको विकल्प दिन सभापति जी पक्कै डराउनु भएको छ । म आफु पनि संसदमा छैन,  पौडेलले भन्नुभयो, 'त्यसैले महामन्त्री जी संसदमा रहेका साथीहरुले संसदीय दलको नेताको विकल्प खोजेर ओली सरकारको विकल्प दिन गृहकार्य सुरु गर्नुस ।'

विपक्षी दलको नेता भनेको ओइटिङ प्रधानमन्त्री पनि हो । त्यसैले कांग्रेसले संसदवाटै विकल्प दिनुपर्छ । पौडेलले भन्नुभयो, अरुले विकल्प ठिक्क पारेपछि सत्ताको लागि कांग्रेसले धोती मात्र फेर्न मिल्दैन । 'नेपाली कांग्रेस सत्ताको भन्दापनि व्यवस्थाको रक्षाका लागि लडदै आएको पार्टी हो । पौडेलले भन्नुभयो, त्यसैले लोकतन्त्र विरोधी ओली सरकारको विकल्प कांग्रेसले संसदवाटै दिएर अहिलेको व्यवस्थाको रक्षा गर्नुको विकल्प छैन ।'

तर पौडेल अघि श्रद्धाञ्जली सभामा बोलेका महामन्त्री कोइरालाले ओली सरकारका बारेमा एक शब्द पनि उच्चारण गर्नुभएको थिएन । कार्यक्रममै उपस्थित केन्द्रीय सदस्य शेखर कोइरालाले अहिलेको परिस्थितिको निकास दिन कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गर्नुको विकल्प नरहेको बताउनुभएको थियो ।

यसअघि विराटनगर विमान स्थलमा पौडेलले लोकतन्त्रवादी दलहरुले बृहत लोकतान्त्रीक एकता गरेर ओली सरकारको विकल्प संसदवाटै दिनुपर्ने बताउनुभएको थियो ।  


प्रतिक्रिया