‘हिमकान्त गन्धर्व संगीत पत्रकारिता’ पुरस्कार उपाध्यायलाई

चैत्र १७, २०७७ | रोल्पा

नेपाल पत्रकार महासंघ रोल्पा शाखाले ‘हिमकान्त गन्धर्व संगीत पत्रकारिता’ पुरस्कारबाट पत्रकार कविता उपाध्यायलाई सम्मान गरेको छ । नेपाली साहित्य, कला र संगीतमा कलम चलाउने उपाध्याय राप्ती साहित्य परिषद रोल्पाको अध्यक्ष पनि हुन । नेपाल पत्रकार महासंघको ६६ औं स्थापना दिवसका अवसरमा १६ चैतमा लिबाङमा आयोजित कार्यक्रममा पत्रकार उपाध्यायलाई सम्मान गरिएको हो । 

स्थानीय जुनकीरी साप्ताहिककी प्रकाशक/सम्पादक रहेकी पत्रकार उपाध्याय राष्ट्रिय समाचार समितिकी प्रतिनिधि समेत हुन् । पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपानेले यसै वर्षदेखि स्थापना गरिएको पुरस्कार पहिलोपटक उपाध्यायलाई प्रदान गरिएको बताउनुभयो । रोल्पाको त्रिवेणी गाउँपालिका ४ (साविकको बुढागाउँ ३ लिङदुङ) मा जन्मिएका संगीतकर्मी स्वर्गीय गन्धर्वका छोरा रेडियो कान्तिपुरमा कार्यरत पत्रकार सन्तोष गन्धर्वले बुवाको स्मृतिमा पुरस्कार स्थापना गर्नुभएको हो ।

 उक्त अक्षयकोषबाट उपाध्यायलाई पहिलो वर्ष संस्थापक अध्यक्ष काशीराम डाँगी, पूर्व अध्यक्ष खेम बुढा लगायतका अतिथिबाट सम्मान गरिएको रोल्पा पत्रकार महासंघले जनाएको छ । महासंघले स्थापना दिवसका अवसरमा हरेक वर्ष रोल्पामा साहित्य, कला संस्कृति, संगीतमा कलम चलाउने एक जना पत्रकारलाई सो पुरस्कार प्रदान गर्ने अध्यक्ष शर्माले बताउनुभयो । 

दाङको घोराही उपमहानगरपालिका—११ स्थायी घर भएका गन्धर्वले आफ्नो जन्मगाउँ रोल्पामा लामो समय नेपाली लोक संगीतको संरक्षण र सम्बद्र्धनमा योगदान पुर्‍याउदै आउनु भएको थियो । वि सं. २०१४ सालमा जन्मिएका गन्धर्व फोक्सोको क्यान्सरबाट गत वर्ष चैत १७ गते भक्तपुर क्यान्सर अस्पतालमा निधन भएको थियो । 


प्रतिक्रिया