प्रदेश सरकार परिवर्तनको गृहकार्य सुरु : कानून मन्त्री केसी

चैत्र २९, २०७७ | बुटवल

लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्री कुल प्रसाद केसीले प्रदेश सरकार परिवर्तनको गृहकार्य सुरु भएको बताउनुभएको छ । केन्द्रीय सरकार परिवर्तनको संकेतसँगै प्रदेशमा पनि त्यसको असर परेको उहाँले दाबी गर्नुभयो । 

पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मान कार्यक्रममा उहाँले सबैको साझा अपनत्व हुनेगरी सरकार बनाउने बताउनुभयो । नेकपा माओवादी केन्द्रका नेता समेत रहेका उहाँले त्यसका लागि दलीय छलफल भईरहेको बताउनुभयो । 

‘केन्द्रमा सरकार परिवर्तनको संकेत देखिएको छ,’ उहाँले भन्नुभयो, ‘केन्द्रको राजनीतिको प्रभाव प्रदेशमा स्वाभाविक रुपमा पर्छ । त्यसैले प्रदेश सरकार पनि परिवर्तन हुन्छ ।’ 

मन्त्री केसीले एक व्यक्तिको अहंकार र दम्भले देश जलिरहेको आरोप लगाउँदै संघीयता आएपनि राजनीतिक रुपमा स्थानीय तह र प्रदेशलाई अधिकार नदिएको गुनासो गर्नुभयो । मन्त्री केसीले प्रदेशमा राजनीति विधि र विधान भित्र बसेर हुने भएकोले छिट्टै निकास निस्कने बताउनुभयो ।


प्रतिक्रिया