प्रदेश १ को सर्वदलीय बैठक निष्कर्षबिहिन

चैत्र २९, २०७७ | काठमाडौं

प्रदेश एकमा प्रदेश सभाको गतिरोध अन्त्य गर्न सभामुख प्रदीप कुमार भण्डारीले आह्वान गर्नुभएको सर्वदलीय बैठक निष्कर्षविहीन भएको छ । सभामुख भण्डारीले सर्वदलीय बैठकमा मुख्यमन्त्री शेरधन राई सहित प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेता र प्रमुख सचेतकलाई बोलाउनुभएको थियो । 

मुख्यमन्त्री राई विशेष कारण देखाउँदै अनुपस्थित भएपछि बैठक निष्कर्षमा पुग्न नसकेको माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताउनुभयो । भोलि दिउँसो १ बजे बोलाएको प्रदेश सभा बैठकलाई गति दिन मुख्यमन्त्री राईसँग समय मागेर सर्वदलीय बैठक बोलाएको सभामुख भण्डारीको भनाई थियो । 

मुख्यमन्त्री राई अनुपस्थित भएपछि बैठकमा प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की उपस्थित हुनुभएको थियो । मन्त्री कार्कीले प्रदेश सभाको बैठक सञ्चालन भएपछि मुख्यमन्त्रीले प्रदेश सभा मै सबै प्रश्नको जवाफ दिने बताउनुभएको थियो ।

 चालु आर्थिक वर्षमा स्वीकृत विकास निर्माणलगायतका योजनाहरुको स्रोतको सुनिश्चितता नहुन्जेल बैठक सञ्चालन गर्न नदिने सत्ता समर्थक माओवादी सहितका दलको अडान छ । यसअघि बिहीबार र शुक्रबार बसेको प्रदेश सभा बैठक पनि विपक्षी दलले अवरुद्ध गरेका थिए । मुख्यमन्त्रीले चालु आर्थिक वर्षको स्विकृत योजनाहरुको स्रोत सुनिश्चितताको ग्यारेन्टी नगरेसम्म प्रदेश सभाको बैठक सञ्चालन हुन नदिने अडान राख्दै आएका छन् ।  


प्रतिक्रिया