गोरखा दरवार पुनर्निर्माणको ७५ प्रतिशत काम सकियो

वैशाख १, २०७८ | गोरखा

गोरखा दरवार पुनर्निर्माणको ७५ प्रतिशत काम सकिएको छ । धुरीमा काठको काम सकेर छाना छाउने काम बाँकी रहेको गोरखा दरवार हेरचाह अड्डाका प्रमुख हरि भुषालले बताउनुभयो । बर्खा अगावै छाना छाउने लक्ष्यका साथ काम भईरहेको उहाँले बताउनुभयो । 

धुरीमा राख्ने १० मध्ये नौ वटा भ्याल्सी राख्ने काम सकिएको भन्दै गारो लगाउने काम पनि अन्तिम चरणमा पुगेको दरवार हेरचाह अड्डाले जनाएको छ । भित्रि फिनिसिङको कामको अलवा झ्याल ढोकाको बुट्टाहरु मर्मत गर्ने र माथिल्लो बरण्डामा आँखीझ्याल राख्ने काम भईरहेको भुषालले जानकारी दिनुभयो । 

चुना सुर्की लगाउने तथा साविकको दरवारको तल्लो तलामा रहेको अगेना, पृथ्वीनारायण शाहकाले नुवाउन प्रयोग गरेको भनिएको ढुङ्गा, राजगद्धि लगायतका भित्रि आवरणलाई पहिले जस्तै सुन्दर बनाउने उहाँले बताउनुभयो । गोरखा दरवार पुनर्निर्माणका लागि पुरातत्व विभागले ठेक्का लगाएको हो ।

१९९० सालको भूकम्पले हल्लाएको दरवारलाई २०७२ को भूकम्पले थप क्षति गरेपछि पुनर्निर्माण थालिएको हो । २०७२ बैशाख १२ को भूकम्पले क्षति पुर्‍याएको गोरखा दरवार २०७४ कात्तिकबाट पुनर्निर्माण सुरु भएको हो । 

२०७६ मंसिर मसान्त भित्र पुननिर्माण सक्नुपर्ने चएपनि ठेकेदारको लापरबाहीका कारण म्याद सकिएको दुइ वर्ष बित्दासम्म पनि दरवार पुनर्निर्माणले पूर्णता पाउन सकेको छैन । सम्झौता अनुसार काम नभएपछि २०७६ पौष ४ गते पहिलो पटक ६ महिना म्याद थपिएको थियो ।

थपिएको पहिलो म्याद जेष्ठ मसान्तमा सकिएपछि पुन: दोस्रो पटक २०७७ मंसिर मसान्तसम्म म्याद थप भएको थियो । दोस्रो पटक म्याद थप गर्दा पनि पुनर्निर्माणको कामले गति लिन नसकेपछि ठेकेदार कम्पनीले पुन: समयावधि बढाउन माग गरेको दरवार हेरचाह अड्डाका प्रमुख भुषालले बताउनुभयो । 


प्रतिक्रिया