रोल्पाको पिराले गाउँमा भीषण आगलामी, ३२ घर,१९ गोठ नष्ट

वैशाख १५, २०७८ | रोल्पा

रोल्पाको त्रिवेणी गाउँपालिकाका–२ नुवा गाउँस्थित सामुदायिक वनमा लागेको भीषण डढेलोका कारण पिराले गाउँका ३२ घर र १९ गोठ जलेर नष्ट भएका छन् । त्रिवेणी–२ नुवागाउँस्थित सामुदायिक वनबाट गाउँमा फैलिएको डढेलो दुई दिन बित्दा पनि नियन्त्रणमा आएको छैन ।

 त्रिवेणीस्थित सामुदायिक वनबाट फैलिएको आगो रुन्टीगढी गाउँपालिकासम्म फैलिएको छ । प्रहरीका अनुसार आगलागीबाट ३ दर्जन बढी पशु चौपाया मरेका छन् । आगोले खानेपानीका पाइप र बिजुलीका तारमा समेत क्षति पुर्‍याएका कारण गाउँमा अन्धकार र पानीविहीन भएको छ ।

 डढेलो नियन्त्रणको प्रयास जारी रहेको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताउनुभयो । स्थलगत निरीक्षण गरी सदरमुकाम फर्केका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले करिब ७० लाख बढी क्षति भएको बताउनुभयो । 


प्रतिक्रिया