संकलित नमूनामध्ये ५१ प्रतिशतमा संक्रमण, सबैलाई अक्सिजन आवश्यक

भरतपुर अस्पतालको कोभिड वार्ड । तस्बिर सौजन्य : भरतपुर अस्पताल ।  

वैशाख २१, २०७८ | चितवन

कोरोना भाइरसको संक्रमण पत्ता लगाउन चितवनको भरतपुर अस्पतालले परीक्षण गरेको नमूनामध्ये आधा भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । अस्पतालका प्रवक्ता डा.युवानिधी बसौलाका अनुसार पीसीआर परीक्षणका लागि अस्पतालले सोमबार संकलन गरेको १ सय ७९ जनाको स्वाबको सोमबार परीक्षण गर्दा ९२ जनामा संक्रमण भेटिएको छ । यो कुल संक्रमितको ५१ प्रतिशत हो । 

अस्पतालमा उपचाररत सबै संक्रमितलाई अक्सिजन आवश्यक भएको अस्पतालका प्रवक्ता डा. बसौलाले बताउनुभयो । अवस्था प्रतिकूल हुँदै गएका कारण संक्रमण नियन्त्रणका लागि सबैलाई सजग हुन चिकित्सकले अनुरोध गरेका छन् । यसअघि संकलित नमूनामध्ये ४२ प्रतिशतसम्म संक्रमण भेटिएको थियो । आइतबार केही घटेर ३९ प्रतिशतमा झरेको थियो । 

डा. बसौलाले भन्नुभयो, ‘केही तलमाथि हुने गरेको छ । तर संक्रमण तीब्र हुँदै गएको यथार्थ हो । त्यसैले सवै तर्क र सचेत बनौं ।’ भरतपुर अस्पतालमा आइतबार गरिएको परीक्षणमा एक दिने बच्चादेखि ८८ वर्ष उमेर समूहका व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । संक्रमित हुनेमा २० देखि ५० वर्ष उमेर समूहका ६९ प्रतिशत रहेको डा.बसौलाले बताउनुभयो ।

भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीले यो पटक संक्रमितको अवस्था अघिल्लो वर्षको तुलनामा निकै गम्भीर देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अघिल्लो वर्ष अस्पतालमा ११० जना हुँदा २० प्रतिशतलाई पनि अक्सिजन दिनु पर्दैन थियो । अहिले भरतपुर अस्पतालमा भर्ना भएको ११० जना सबैलाई अक्सिजन दिनु परेको छ ।’ 

अघिल्लो वर्षसम्म दीर्घरोगी र बढी उमेर समूहका प्रभावित देखिएकोमा यो वर्ष सबै खाले उमेर समूह र स्वास्थ्य व्यक्ति पनि प्रभावित भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘निको हुन समय लाग्दा फोक्सोमा समस्या बढ्ने खतरा छ । अहिले अस्पताल आएका व्यक्ति सामान्य अवस्थाबाट ४८ घण्टाभित्रै आईसीयूमा लग्नु परेको छ ।’

संक्रमणको समस्या गहिरिंदै गएपनि समाजमा यो संक्रमण प्रति सजगता बढ्न नसकेको डा. अधिकारीलेको भनाई छ । उहाँले भन्नुभयो, ‘अस्पतालमा बिरामी कुर्न भनेर बसेको व्यक्ति आफै संक्रमित छ । तर अस्पताल भरी घुमी रहेको छ । होम अइसोलेसनमा कुनै परिवार बसेको छ भने लक्षण नभएको एकजना सदस्य बजार डुल्ने गरेको भेटियो । यस्ता समस्याले खतरा बढाइ रहेको छ ।’

भरतपुर अस्पतालका साथै चितवन मेडिकल कलेज र भरतपुर क्यान्सर अस्पतालमा पनि पीसीआर परीक्षण हुने गर्दछ । चितवन स्वास्थ्य कार्यालयका अनुसार सोमबार मध्याह्नसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या एक हजार २ सय ११ रहेको छ । 

हालसम्म कुल संक्रमितको संख्या आठ हजार २ सय १२ पुगेको छ । संक्रमितमध्ये हालसम्म चितवनमा ११८ को मृत्यु भईसकेको छ । चितवनका अस्पतालमा जिल्ला बाहिरका संक्रमितको पनि उपचार भईरहेको छ । जिल्ला बाहिरका संक्रमितको मृत्यु यसमा समावेश छैन ।

चितवन स्वास्थ्य कार्यालयको विवरण अनुसार एक हजार २११ संक्रिय संक्रमितमध्ये ९३ जना अस्पतालमा उपचाररत छन् । तर सोमबार दिउँसोसम्म जिल्लाका तीन वटा अस्पतालमा उपचारमा रहेका संक्रमितको संख्या २२० रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

भरतपुरमा चितवनका ९३ र १२७ जना जिल्ला बाहिरका संक्रमितको उपचार भइरहेको छ । चितवनका अस्पतालमा सघन उपचार कक्ष (आईसीयू) मा ६४, भेन्टिलेटरमा १३ तथा एचडीयूमा ४६ जना संक्रमितहरुको उपचार भइरहेको छ । 

चितवनका तीन वटा अस्पतालमा हाल कोरोना संक्रमितको उपचारका लागि ३४९ शय्या उपलब्ध छन् । संक्रमितको उपचारको लागि शय्याको संख्या बढाउन तथा अक्सिजनको अभाव हुन नदिन आवश्यक तयारी थालेको स्वास्थ्य कार्यालयका प्रमुख दिपक तिवारीले बताउनुभयो ।


प्रतिक्रिया