पाल्पामा थप दुई कोरोना संक्रमितको मृत्यु

फाइल तस्बिर 

वैशाख २३, २०७८ | पाल्पा

कोरोना भाइरसको संक्रमणबाट पाल्पामा थप दुई जनाको मृत्यु भएको छ । पछिल्लो १२ घण्टामा तानसेनका एक पुरुष र माथागढीमा एक महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालयले पुष्टि गरेको छ । तानसेन नगरपालिका–३, भगवती टोलका ८१ वर्षीय पुरुषको होम आइसोलेसनमै मृत्यु भएको हो । 

बैशाख २० गते एन्टिजेन परीक्षण गर्दा ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो । तानसेन–३, का वडाध्यक्ष महेशमान शाक्यका अनुसार नेपाली सेनाको सहयोगमा घरपरिवारले राम्दीघाटमा लगेर दाहसंस्कार गरेका छन् ।

माथागढी गाउँपालिका–३, कसेनीकी २५ वर्षीया महिलाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको माथागढी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख केशव जीसीले बताउनुभयो । उहाँका अनुसार केही दिनअघि बिरामी भएर उपचारका लागि लुम्बिनी मेडिकल कलेज आएको र कोरोना संक्रमण पुष्टि भएको थियो । 

बिहीबार बिहान ४ बजेतिर अस्पताल ल्याउने क्रममा मृत्यु भएको स्थानीयले बताए । शव व्यवस्थापनका लागि नेपाली सेनालाई आग्रह गरिएको स्वास्थ्य शाखा प्रमुख जीसीले बताउनुभयो । योसँगै जिल्लामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ । 

यसैबीच, पाल्पामा कोरोनाको संक्रिय संक्रमित ६ सय ३३ पुगेको छ । बुधबार एकैदिन सबै भन्दा धेरै १ सय ४८ जना पुष्टि भएको हो । १ सय ९५ जनाको पीसीआर र एन्टिजेन परीक्षणमा तानसेन, रैनादेवी छहरा र बगनासकालीमा सबै भन्दा धेरै कोरोना संक्रमित देखिएको हो । अन्य सात स्थानीय तहले भने अझैपनि एन्टिजेन र पीसीआर परीक्षणमा ध्यान दिएका छैनन् । 


प्रतिक्रिया