तिलोत्तमाका नगर प्रमुख र उपप्रमुखको गाडीलाई एम्बुलेन्स बनाइयो

वैशाख २३, २०७८ | तिलोत्तमा

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगर प्रमुख र उपप्रमुख चढ्ने गरेको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने भएको छ । नगरपालिकाभित्र दैनिक रुपमा कोरोना संक्रमितको संख्या बढेसँगै संक्रमितलाई उपचारको लागि अस्पताल लैजान एम्बुलेन्सको अभाव भएपछि यस्तो निर्णय गरिएको नगरप्रमुख वासुदेव घिमिरेले बताउनुभयो । 

नगर प्रमुख घिमिरेले लु १ झ ३६० र उपप्रमुख जगेश्वरीदेवी चौधरीले ३२६ नम्बरको स्कार्पियो गाडी प्रयोग गर्दै आएका छन् । ‘अहिलेको परिस्थितिमा नागरिकले एम्बुलेन्स नपाएर घरमै छट्पटाई रहँदा हामी गाडी चढेर हिँड्न सुहाउँदैन,‘ उहाँले भन्नुभयो, ‘नागरिककै करबाट खरिद गरेका सरकारी गाडी नागरिककै लागि प्रयोग गर्दैछौं ।’ 

सो गाडीमा बिरामीका लागि सिट र अक्सिजन सिलिण्डरको व्यवस्थापन भइरहेकाले आजबाटै एम्बुलेन्सको रुपमा प्रयोगमा ल्याइने उहाँले बताउनुभयो । दैनिक दुई सय जनासम्म संक्रमित थपिंदै गइरहेको तिलोत्तमामा रुपन्देहीको बुटवल उपमहानगरपछि सबै भन्दा धेरै संक्रमित भएको नगर हो । 


प्रतिक्रिया